हेटौंडा : आगामी फागुनमा हुने संघीय निर्वाचनमा मकवानपुरबाट थप १४ हजार १ सय २१ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले गत मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको प्रारम्भिक नामावलीअनुसार जिल्लामा १४ हजार १ सय २१ जना मतदाता थप भएका हुन् ।
यसअघि मकवानपुरमा ३ लाख २ हजार २ सय ४३ जना मतदाता रहेकामा गत असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोगले मतदाता दर्ता प्रक्रिया सुचारु गरेकोमा त्यस अवधिमा थप भएका मतदातासहित जिल्लामा ३ लाख १६ हजार ३ सय ६४ जना मतदाता पुगेका छन् । थप भएका मतदातामध्ये हेटौंडा उपमहानगरपालिकाभित्र सबैभन्दा बढी ७ हजार १ सय ६३ जना छन् । यस्तै, थाहा नगरमा १ हजार ४ सय १५ जना र मनहरी गाउँपालिकामा १ हजार ४ सय ६८ जना मतदाता थप भएका छन् ।
जिल्लाको बागमती गाउँपालिकामा ८ सय ४०, बकैया गाउँपालिकामा ८ सय १७, भीमफेदी गाउँपालिकामा ६ सय ९३ र मकवानपुरगढी गाउँपालिकामा ७ सय ५४ मतदाता थप भएको निर्वाचन कार्यालयको तथ्यांक छ । इन्द्रसरोवर गाउँपालिकामा ३ सय ७३, कैलाश गाउँपालिकामा ३ सय ६३ र राक्सिराङ गाउँपालिकामा २ सय ३५ जना नयाँ मतदाता थप भएको निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । नाम दर्ता तथा संशोधन गरिएका मध्ये पनि संख्या फरक आउन सक्ने भएकाले अध्यावधिक गरी पुस १५ गतेमात्र निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम संख्या यकिन हुने पनि उहाँले जानकारी दिनुभयो ।
जिल्लामा मतदान केन्द्रहरू पनि थप हुने अनुमान गरिएको छ । जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा १ सय ८० वटा मतदान केन्द्रहरु रहने भएका छन् भने क्षेत्र नं. २ मा १ सय ९६ वटा मतदान केन्द्रहरु रहनेछन् । यसअघिको निर्वाचनमा कुल ३ सय ६७ वटा मतदान केन्द्रहरु रहेकामा यसपटक जिल्लामा ३ सय ७६ वटा रहनेगरी ९ वटा केन्द्रहरू थप गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थल भने पुरानै संख्यामा निर्वाचन क्षेत्र नं १ मा ६२ वटा र क्षेत्र नं. २ मा १ सय ५ गरी जम्मा १ सय ६७ वटा रहने पनि निर्वाचन कार्यालयले जनाएको छ ।
