कैलाश : मकवानपुरको कैलाश गाउँपालिकाले ख्रीष्टमस (क्रिसमस) डे पर्वका लागि तीन दिन बिदा दिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले घोषणा गर्नुभएको छ । सोमबार इसाई एकता समाजले आयोजना गरेको पालिकास्तरीय येशु ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस)को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्य पर्वमा धेरै दिन बिदा रहने र क्रिसमसमा एक दिन बिदा हुने भएकाले इसाई धर्मावलम्बीहरुको संस्कार र परिधिभित्र बसेर यसवर्ष तीन दिन विदा दिने घोषणा गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले सरकारको कुनै धर्म हुँदैन र सबै धर्मको रक्षा गर्नु हाम्रो दायित्व भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘हामी सबै धर्मावलम्बीहरुमा सामूहिक एकता आवश्यक पर्दछ । आफ्नो संस्कार उठाउन सकेनौं भने हामी कहिल्यै पनि एकताको सूत्रभित्र बाँध्न सक्दैनौ, सबै धर्म बराबर हुन्, स्थानीय सरकारले सबै मेला, जात्रा र पर्व मनाउनलाई आवश्यक बजेट विनियोजन गरेका छौं ।’
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पर्वले मानिसमा एकताको भाव जगाउने बताउनुभयो । धर्म, परम्परा र रितिरिवाज आफ्नो आफ्नो छ, सबैको रक्षा सरकारले गर्ने उहाँले बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता अब्बल भए समाजमा परिवर्तन हुनेसमेत बताउनुभएको छ ।
कार्यक्रममा विभिन्न मण्डलीका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कैलाशमा ४२ वटा विभिन्न मण्डलीहरुमा करिब पाँच हजार इसाई धर्मावलम्बीहरु रहेका छन् । इसाई एकता समाजका अध्यक्ष आशीष थिङको अध्यक्षतामा भएको कार्यक्रममा वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ४ का अध्यक्ष तिलकबहादुर मुक्तान, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ८ का अध्यक्ष आशीष प्रजा, एनसिएफ नेपालका अध्यक्ष रेभरेन हनोक तामाङ, कार्यपालिका सदस्यहरु राममाया प्रजा, सुन्तली सुनुवार, सम्झना मुक्तान, दिलमाया थिङलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको आतिथ्य रहेको थियो ।
