Home मुख्य समाचार वर्तमानमा अभिभावक शिक्षाको सान्दर्भिकता र अपरिहार्यता

वर्तमानमा अभिभावक शिक्षाको सान्दर्भिकता र अपरिहार्यता

१. शिक्षामा अभिभावक शिक्षाको झिनो आवाज बाहिर आएको छ । यो सकारात्मक पक्ष हो । पछिल्ला वर्षहरुमा नागरिक शिक्षाको प्रसंग उठिरहेको छ । नागरिक शिक्षालाई मानवीय मूल्य र मान्यतासँग जोडेर चर्चा गरिएको छ । परम्परागत संस्कारका सन्दर्भहरुलाई पनि बहसमा तान्ने प्रयत्न भइरहेको छ । इतिहासका विरतापूर्ण गाथाहरु, पौराणिक ग्रन्थहरुका अति प्राचिन श्रुति स्मृतिमा आधारित रोचक घटनाक्रमहरुसँगै धार्मिक संस्कारजन्य पक्षहरु र मानव सभ्यताको विकासक्रमसँग जोडिएका सामाजिक शिक्षाका विषयवस्तुहरुको ज्ञानलाई शिक्षाको महत्वपूर्ण खण्ड स्विकार गरिएको छ ।

हाम्रो समाजका परम्परागत मूल्य, मान्यताहरु र रीतिरिवाज तथा संस्कारहरु मौलिक पहिचानका विषय हुन् । यी कुराहरु मेटिएको स्थितिमा हाम्रो चिनारी नै संकटमा पर्न सक्छ । मानिसलाई जनावरबाट भिन्न पहिचान बनाउने तत्व भनेकै शिक्षा हो । शिक्षा अन्तर्गत ज्ञान र सीप पर्दछन् । शिक्षाले नै कुन् काम ठीक हो र कुन काम बेठीक हो भन्ने स्पष्ट बनाउँछ । पालना गर्ने वा व्यवहारमा ल्याउने काम त व्यक्तिमा निर्भर गर्दछ । मानव जीवनका प्रत्येक घटना र क्रियाकलापहरुलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने सीपको श्रोत नै शिक्षा हो भन्दा अत्युक्ति नहोला । तसर्थ कुनैपनि मान्छे शिक्षित हुनैपर्छ । यहाँ शिक्षित भन्नाले शिक्षण संस्थाहरुले प्रदान गर्ने सर्टिफिकेट प्राप्त व्यक्तिमात्र हैनन् भन्नेमा स्पष्ट बन्नु पर्दछ । शिक्षालाई संकुचित अर्थमा होइन, व्यापक कोणबाट बुझ्न जरुरी छ ।

२. वर्तमान समाज आधुनिक प्रविधिसँग जोडिएको छ । अधिकतम सुविधा र उपलब्धिका लागि मान्छे दौडिरहेको छ । पैसा र पद प्राप्तिका लागि तीव्र प्रतिस्पर्धा चलिरहेको छ । ज्ञान र सीप गौण बनेका छन् । पैसाका लागि मानवीय मूल्य, मान्यता र इमान्दारिताका पक्षहरु निरिह बनेका छन् । सामाजिक अपराधको चरित्र फेरिएको छ । विकृति र बिसंगतिसँगै अराजकता मौलाएको छ । पद प्राप्तिका लागि सबैखाले हर्कतहरु सामान्य भएका छन् । पदले उपयुक्त पात्र खोज्नुपर्नेमा व्यक्तिहरु रुपैयाँ बोकेर पद खरिदका लागि लिलाम बढाबढमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कलिला बालबालिकाहरुमा अन्यौलता देखिन्छ । उनीहरु भ्रमका शिकार बनिरहेका छन् । पढ्ने भनेको त पैसा कमाउन रहेछ भन्ने बुझेका छन् । पैसा भए पछि अरु त सबै स्वतः आइहाल्छ भन्ने बुझाईले ग्रसित भएका छन् । अनि पैसा कमाउन यहाँ बसेर हुँदैन । यहाँको पढाई कामै छैन । नेपालमा त रोजगारी नै भेटिन्न । यहाँको जागिरले त दैनिक खर्च चलाउनै सकिन्न । पैसा कमाउन र जीवनलाई सहज बनाउन त बिदेश नै जानैपर्छ भन्ने मान्यताले जरा गाडेको छ । यस्ता भ्रमहरुबाट ग्रसित वर्तमान युवापंक्तिका लागि नागरिक शिक्षा अनिवार्य सावित भएको छ ।

३. काँचो माटोबाट मात्र माटोका विभिन्न आकार प्रकारका भाँडा बनाईन्छ । पाकेका माटोका भाँडाहरुबाट बनिसके पश्चात अर्को आकारको भाँडो सम्भव छैन । बाँसका कलिला मुनालाई मात्र चाहेको मोहडातर्फ झुकाउन सहज हुन्छ । छिप्पिएको बाँस हाम्रो चाहना अनुसार नुहिने स्थिति हुँदैन । त्यस्तै वर्तमानका बालबालिकाका लागि कस्ता विषयवस्तुका ज्ञान र सीप जरुरी पर्छ भन्ने निक्र्योल अभिभावकको जिम्मेवारी हो । हाम्रो आवश्यकताका विषयहरु के–के हुन् र बालबालिकाका रुचीका क्षेत्रहरुसँग यी आवश्यकताको मेल कसरी गराउने भन्नेमा आजका अभिभावकको चिन्ता हुनुपर्छ । केटाकेटीहरु पढ्दैनन् मात्र मोबाईलमा झुण्डिरहन्छन् भन्दैमा जिम्मेवारी पूरा हुँदैन । पारिवारिक संस्कार नै जानेनन् । आफन्त नातागोता आदर सम्मान केहि थाहा छैन ।

बालबालिकाका खाने, लाउने, बोल्ने, हिँड्ने, पढ्ने जस्ता क्रियाकलापहरुमा नकारात्मक टिप्पणी अधिक सुनिन्छ । सुधारका पक्षमा अभिभावकलाई चिन्तन गर्ने फुर्सद नै छैन । आफ्ना सन्तानका लागि एक दिनमा एक घण्टा समय दिन नसक्ने अभिभावकहरु शिक्षकहरुलाई गुनासो गरिरहेका हुन्छन् । आपसमा आफ्नै सन्ततीका गफ गरेर समय बिताउने पनि धेरै छन् । उपयुक्त समयमा र विषयमा प्रोत्साहनका बदलामा गाली र असान्दर्भिक कुराहरुबाट बालबालिकाका मष्तिस्कमा स्वभाविक नकारात्मक चरित्र उत्पन्न गर्दछ । दण्ड दिनुपर्ने वा सुधार गर्नैपर्ने बेलामा वास्तै नगर्ने र अझ ढाकछोप गरेर आफ्ना केटाकेटीको पक्षमा वकालत गर्ने अनि बिग्रिसकेपछिको पश्चातापले थप बिकराल भएका उदाहरण हाम्रो समाजमा पर्याप्त भेटिन्छन् ।

४. शिक्षा दिने काम त शिक्षण संस्थाहरुको मात्र हो भन्ने मनोविज्ञान अर्को समस्या हो । हरेक बच्चाको पहिलो स्कूल आफ्नै घर हो भनेर सबैले भन्ने गरेका छन् । घरबाट शिक्षा प्रारम्भ हुने भनेको केटाकेटीका आमा, बुबा, हजुरबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, ठूलोबा, ठूलोआमा लगायतकाबाट सिक्ने कुराहरु पर्दछन् । यदि संयुक्त परिवार छैन भने आमा र बुबा नै निर्णायक मानिन्छन् । बच्चालाई खान, बोल्न, हिँड्न, खेल्न सिकाउने बेलामा बिहान उठेपछि हतारमा आमा बुबाले शिशु स्याहार केन्द्रमा पठाएर आफु जागिर वा व्यवसायमा जान आतुर गर्ने हाम्रो समाजमा समस्या उत्पन्न हुनु स्वभाविक भन्नैपर्दछ । बिस्तारै बच्चा हुर्किदै जाँदा संगत र वातावरणले उनीहरुको सिकाईमा प्रभाव पर्दछ ।

अर्को तर्फ हामी संस्कारका कुरा गर्छौं । बानी आचरण र बोलीचालीका कुरा गर्छौं । जुन हाम्रो पारिवारिक परिवेश भन्दा भिन्न बनिसकेको हुन्छ । उठबस, घुलमिल, बोलचाल, खानपिन, खेलसंगीका वातावरणले आमा बुबासँग उनीहरुको दूरी विस्तारै बढिसकेको हुन्छ । हामी भने संस्कार नै जान्दैन भन्छौं । परिवारका व्यक्तिहरु, नातागोता तथा आफन्तीहरुसँग भेटाउने चिनाउने फुर्सद हामीसँग हुँदैन । अनि उनीहरुलाई सम्मान गरेन भनेर उल्टै गाली गर्छौं । धार्मिक संस्कारका कुराहरु, परम्पराका विषयहरु, मान मर्यादाका सवालहरुमा आफ्ना केटाकेटीहरुसँग बसेर थोरै कुरा गर्नुको सट्टा अन्यत्र नै व्यस्त देखिने स्वभाव तर्फ हामीले विश्लेषण गर्नुपर्दैन ?

केटाकेटीका सामुन्ने बसेर हामीले गरेका कुराहरु उनीहरुले चाँडै नक्कल गर्छन् । परिवारका अन्य सदस्यहरुका बारेमा अनि स्कूलका शिक्षकहरुका बारेमा सँगै छिमेकी एवम् समुदायका विभिन्न तह र तप्काका व्यक्तिहरुका सम्बन्धमा हामीले गरेका टिप्पणी र नकारात्मक कुराहरुको सिधा प्रभाव उनीहरुका कलिला दिमागमा परिरहेको हुन्छ । त्यस्तै ठूला मान्छेहरुले खाइरहेको वस्तुको स्वाद लिने उनीहरुमा तीव्र ईच्छा रहन्छ नै । त्यहि सिको गरेर सुर्ती खाने, धुम्रपान गर्ने, अन्य नशालु पदार्थको सेवन गर्ने लत ठूलाकै प्रभाव र दबावमा फैलिरहेको हुन्छ ।

५. अन्तमा, एक नागरिकले न्यूनतम पनि सिक्नैपर्ने समाज विज्ञानका विषयहरु र गणितका आधारभूत सीपहरुलाई नागरिक शिक्षा भनिन्छ । मानवीय आचरण, बानी, व्यवहार, कला, संस्कृति, सदाचार, सत्व्यवहार, नैतिक शिक्षाका विषय हुन् । यद्यपि, धार्मिक र पौराणिक व्याख्यालाई नैतिक शिक्षाका अंग मानिएको पाईन्छ । उल्लेखित सबै प्रसंग र सन्दर्भहरु अभिभावक शिक्षाका शीर्षकहरु बन्न सक्छन् । यो नितान्त अनौपचारिक शिक्षा अन्तर्गत पर्ने आम बुझाइरहेको छ । आफू बसेको र बाँचेको भूगोल, यहाँको हावापानी, वातावरण, जीवजन्तु र वनस्पतीसँगै प्राकृतिक सम्पदा सम्बन्धी ज्ञान ऐच्छिक विषय हुनै सक्दैनन् ।

आफ्नो मुलुकको आर्थिक राजनीतिक प्रणाली, विकास निर्माणका पक्षहरु, सामाजिक संरचना, संविधान, ऐन नियम, कानून लगायतका विषयहरु सामाजिक शिक्षा अन्तर्गत पर्दछन् । यसै सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतम सरले विद्यालय तहमा नागरिक शिक्षालाई जोड्ने र सो को तयारीबारे चासो बढाउनुलाई सकारात्मक मान्नु पर्दछ । ऐच्छिक विषयका अतिरिक्त कक्षा ११ र १२ मा सामाजिक अध्ययन विषय लागु गरिएको छ । यी औपचारिक शिक्षाका पक्षहरु हुन् । हुन त, आजका विद्यार्थीहरु नै भोलिका अभिभावक बन्नेछन् । यस आलेख मार्फत अभिभावक शिक्षा र यस्का विषयवस्तुहरु शिक्षा सम्बद्ध सरकारी तथा गैरसरकारी संस्थाहरुलाई बहसका लागि आकर्षित गर्ने अभिप्रायसँग जोडिएको छ । अभिभावक शिक्षालाई खासगरी स्थानीय तहबाट अनिवार्य कार्यान्वयनमा लैजानु पर्दछ भने प्रदेश तथा संघीय सरकारका तर्फबाट प्राथमिकताका साथ सम्वोधन गरिनुपर्दछ ।

Exit mobile version