हेटौँडा : काभ्रे जिल्लाको पनौती नगरपालिका–५ आईटीपार्कमा रोकि राखेको ट्रिपरमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा बनेपा–पनौती सडकखण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको बा २ क ७३५० नंम्बरको ट्रिपरमा ठक्कर खाएर सोही स्थानमा रोकी राखेको बा.प्र.०१–००६ ख २२१७ नम्बरको ट्रिपरमुनि पस्दा मोटरसाइकल चालक गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक बाँके जिल्लाको नेपालगन्ज घर भई हाल पनौती नगरपालिका–४, दुधमिल बस्ने १८ वर्षीय सुदिप खत्रीलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो । उपचारका क्रममा राती १० बजेर ३६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । २२१७ नम्बरको ट्रिपर चालक नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–१, काफलचौरका ३४ वर्षीय मंगले तामाङ र ७३५० नम्बरको ट्रिपर चालक धादिङ जिल्लाको गल्छी गाउँपालिका–९, बस्ने ३४ वर्षीय देवराज भण्डारीलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।











