हेटौँडा:मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिकास्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम भएको छ । बुधबार कैलाश–३ स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वडा ३ का कार्यबाहक अध्यक्ष राममाया प्रजाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले विद्यार्थीको सिकाई प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाई र ज्ञान बढ्ने बताउनुभयो । विद्यार्थीले तयार पारेका सामग्रीहरुमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेशिन औजार, विज्ञानका विभिन्न जानकारी मूलक सामग्रीले एक आपसमा सिकाई र अनुभव साटासाट हुने अध्यक्ष मुक्तानको भनाइ थियो । नीति तथा कार्यक्रममा समेट्दै कार्यक्रम राखिएकाले आगामी दिनहरुमा पनि थप उर्जाका साथ कार्यक्रम गरिने अध्यक्ष मुक्तानले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश–२ प्रथम भएको छ भने कालिका मावि कैलाश–९ द्वितीय र कमलादेवी मावि कैलाश–२ तृतीय भएको छ । पुरस्कृत भएका विद्यालयले नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्तरनिहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाई आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताउनुभयो । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका सामग्रीहरुको मुल्यांकनको आधारमा उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मुल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, ईन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रधानाध्यापक बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्य रहेको थियो ।