बागमती गाउँपालिकामा गठन गरिएको जेनजी कमिटीको तस्वीर ।

हेटौँडा : बागमती गाउँपालिकामा जेनजी कमिटी गठन भएको छ । मंगलबार जेनजी मकवानपुर जिल्ला कमिटीको टोली बागमती गाउँपालिकामै पुगेर जेनजी गाउँपालिका कमिटी गठन गरेका हुन् ।

सचिन थापा मगरको संयोजकत्वमा ४० सदस्यीय जेनजी गाउँपालिका कमिटी सर्वसम्मत गठन गरिएको मकवानपुरका संयोजक सुविन खत्रीले जानकारी दिनुभयो । जेनजी गाउँपालिका कमिटीमा उपाध्यक्ष पद रिक्त रहेको छ । उक्त पद पछि चयन गरिने उहाँले बताउनुभयो ।

गाउँपालिका कमिटीको सचिवमा रमेश थोकर र कोषाध्यक्षमा उमेश लामा चयन भएका छन् । सदस्यहरुमा वीरबल राई, बासु राई, निर्मल राई, नवराज राई, धनबाहादुर भोलन, अदिप श्रेष्ठ, नवीन भोलन, धर्मराज भोलनलगायत चयन भएका छन् ।

गत भदौ २३ र २४ गते देशभर आन्दोलनमा सक्रियरूपमा अन्याय, भ्रष्टाचार र व्यथितिविरुद्ध लागिपरेका युवाहरुलाई एकजुट गरेर समेट्ने उद्देश्यले बागमतीका युवाहरुसँग छलफल गरेर जेनजी कमिटी गठन गरिएको जेनजी मकवानपुरका संयोजक खत्रीको भनाइ छ । जेनजी मकवानपुरले यसअघि नै जेनजीका मुख्य अभियन्ता मिराज ढुंगानासँग भेटेर जेनजीको आधिकारिकता प्राप्त गरिसकेको छ । बुधबार जेनजी मकवानपुरको टोली बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका पुगेर कमिटी गठन गर्ने योजना रहेको बताइएको छ ।