Home मुख्य समाचार स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्न सरकार गम्भिर छ : मुख्यमन्त्री बानियाँ

स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्न सरकार गम्भिर छ : मुख्यमन्त्री बानियाँ

आधारभुत अस्पताल भवनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच गर्न प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । उहाँले नागरिकको स्वास्थ्य उपचारको सेवालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

मंगलबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा करिब १२ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको आधारभुत अस्पताल भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले शिक्षा र स्वास्थ्यजस्ता संविधान प्रदत्त मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले मुलुकको युवा शक्तिलाई प्रविधिमैत्री बनाएर रोजगारी सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘रोगमुक्त समाज र निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ ।’ मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘कुनै पनि नवजात शिशु कुपोषणको शिकार नबनुन् । साथै, सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायतका दीर्घ र असाध्य रोग लागेका नागरिकले सहज र सरल सेवा पाऊन् भन्ने उद्देश्यले सरकारले काम गरिरहेको छ ।’

उहाँका अनुसार गणतन्त्र गरिव निमुखाको व्यवस्थाको हो । मुलुकभित्र केही भएन भन्ने असन्तोषलाई चिर्दै भएका विकासका कामलाई नागरिकसमक्ष पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । भौतिक पूर्वाधारसँगै नागरिकको आर्थिक उपार्जनलाई पनि जोड्नुपर्ने उहाँको भनाइ थियो ।

‘बाटो बनाइदिएर मात्र भएन, नागरिकको खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरुलाई सीप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ । हामी त्यसतर्फ अग्रसर छौं ।’ मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनका बीच पनि पालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले सुविधाजनक बाटो नहुँदा बिरामीले बाटैमा ज्यान गुमाउनु परिरहेको बाध्यता रहेको बताउनुभयो । सडक निर्माणमा प्रदेश सरकारसँग ठूलो भरोसा रहेको उहाँको भनाई छ । अध्यक्ष थापाले पालिकाभित्र कृषि र पशुपालनका क्षेत्र पहिचान गरी नागरिकको आर्थिक समृद्धिका लागि कार्यक्रम लागू गरिएको बताउनुभयो ।

Exit mobile version