भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिनको स्मरणमा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिएको छ । नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेर भ्रष्टाचार विरुद्ध प्रतिबद्धता जनाए पनि देशमा भ्रष्टाचार झन मौलाउँदै गएको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै गत भदौ २३ गते जेनजी युवाले गरेको प्रदर्शनपछि उत्पन्न जटिल परिस्थितिले मुलुकमा ठूलो उथलपुथल ल्याए पनि भ्रष्टाचार कम नहुनु विडम्बना बनेको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसकै पूर्वसन्ध्यामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भक्तपुरको हेलिप्याड निर्माणमा भएका ठूलो र संगठित भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भ्रष्ट र आचार दुई शब्द मिलेर बनेको भ्रष्टाचारलाई भ्रष्ट आचरण पनि भन्ने गरिन्छ । कुनै व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गर्नु, सार्वजनिक जीवनमा स्वीकृत मूल्य मान्यताविपरितको आचरण गर्नु, राज्यको नियम कानुन पालना नगर्नु, आर्थिक हिनामिना गर्नु आदि भ्रष्टाचारका रुप हुन् । सामान्य बुझाइमा भ्रष्टाचारलाई आर्थिक अपराधहरुसित जोडेर बुझ्ने गरिएको भए पनि अनैतिक आचरण, असामाजिक क्रियाकलाप र नीतिगत भ्रष्टाचारको विगविगि पनि उत्तिकै पाइन्छ । नयाँ–नयाँ विषय, क्षेत्र र स्वरुपका भ्रष्टाचारजन्य गतिविधिहरु सार्वजनिक भइरहनुले भ्रष्टाचार जटिल समस्या बन्दै गएको स्पष्ट छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेमा कारवाही गर्न संवैधानिक निकायको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको छ । भ्रष्टाचारको विरुद्धमा स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था पनि छ । त्यति हुँदाहुँदै भ्रष्टाचार बढी हुने देशमा नेपाल अगाडि देखिनुले भ्रष्टाचार अन्त्य गर्नु चुनौतीपूर्ण बनेको छ ।
भ्रष्टाचारको विरुद्ध काम गर्ने थुप्रै सरकारी निकाय र गैरसरकारी संघसंस्था क्रियाशील छन् । नागरिक समाज तथा सञ्चार माध्यमहरुले पनि भ्रष्टाचारविरुद्ध खबरदारी गरिरहेकै छन् । देशको शासन सञ्चालन गर्ने सरकारको नेतृत्वमा बस्नेहरु पनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको रटान लगाइरहेकै छन् । यति हुँदा पनि भ्रष्टाचार घट्नुको सट्टा बढ्दै जानु रहस्यमय देखिन्छ । वर्षौदेखि जरो गाडेर बसेको भ्रष्टाचार एकैपटक अन्त्य गर्न सम्भव नभए पनि भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । भ्रष्टाचार कम नगरी देशमा विकास र समृद्धि कल्पना गर्न सकिँदैन । भ्रष्टाचारविरुद्ध आम नागरिक सचेत र जागरुक बन्नु आवश्यक छ ।
भ्रष्टाचार अन्त्य गर्न पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता, इमानदारिता कायम गर्नुपर्छ । भ्रष्टाचारको प्रभावकारी छानविन र कडा कारबाहीलाई पनि व्यापक बनाउनुपर्छ । वर्षमा एक दिन र्याली, छलफल, अन्तरक्रियाजस्ता केही चेतनामूलक कार्यक्रम गरेर भ्रष्टाचार विरुद्धको दिवस मनाउँदैमा भ्रष्टाचार अन्त्य हुन सक्दैन । मुलुकको विकास र प्रगतिको बाधक बनेको भ्रष्टाचार न्यूनीकरण चुनौतीपूर्ण बनिरहेको छ । साना–ठूला भ्रष्टाचारका काण्डले राज्यका सबै अंग र क्षेत्रलाई गाँजिरहेको अवस्थामा भ्रष्टाचार विरुद्धको दिवस मनाउँदै गर्दा भ्रष्टाचारीलाई कानुनी कारबाही गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक छ । आम नागरिकलाई भ्रष्टाचारविरुद्ध लाग्न पर्याप्त सचेतनासँगै भ्रष्टाचार निवारणका लागि गठन भएका राज्यका निकायहरुलाई निष्पक्ष र प्रभावकारी बनाउन सकेमा भ्रष्टाचार धेरै कम हुने विश्वास गर्न सकिन्छ ।
