हेटौंडा : हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत सेक्युरिटी गार्डहरु पारिश्रमिक नपाएको भन्दै प्रशासन पुगेका छन् । बज्र सेक्युरिटिज प्रालिले आफ्ना ४७ जना सेक्युरिटी गार्डलाई ५ महिनादेखि तलब नदिएको भन्दै श्रमिकहरु प्रशासन पुगेका हुन् ।
सोमबार श्रमिकहरुले श्रम कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा मुख्यमन्त्री कार्यालयमा निवेदन पेश गर्दै तलब दिलाइदिन सहयोग मागेका छन् । कम्पनीले हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत ४७ जना कर्मचारीलाई गत साउनदेखि नै पारिश्रमिक नदिएको भन्दै पीडितहरुले आफ्नो पारिश्रमिक पाउनुपर्ने सेक्युरिटी गार्डमा कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् ।
पारिश्रमिक समयमा नपाउँदा दैनिक गुजाराका काममा समेत समस्या बढ्दै गएको उनीहरुले बताएका छन् । कम्पनीले सेक्युरिटी गार्डको रुपमा कार्यरत कतिपय कर्मचारीको विगत १० महिनादेखि सामाजिक सुरक्षा कोषमा रकमसमेत दाखिला नगरिदिएको कर्मचारीहरुको आरोप छ ।
ललितपुर मानभवनमा मुख्य कार्यालय रहेको बज्र सेक्युरिटिज प्रालिले हेटौंडा सिमेन्ट उद्योगमा गत वर्षको मंसिरदेखि टेन्डरमार्फत् ४७ जना सेक्युरिटी गार्ड सेवा उपलब्ध गराएको थियो । आफूहरुले कम्पनीसँग पटक–पटक तलब माग्दा विभिन्न बहाना देखाउँदै नदिएकोले प्रशासनको सुरक्षामा श्रम कार्यालयमार्फत् न्याय माग गरिएको उनीहरुले जनाएका छन् ।
