
हेटौँडा : मकवानपुरका पत्रकारका लागि डिजिटल पत्रकारिता तथा पत्रकारितामा कृत्रिम बुद्धिमता (एआई) को प्रयोगबारे क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बुधबारबाट मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा कार्यक्रम भएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता क्षेत्र विकासका लागि मन्त्रालयले सदैव साथ दिने प्रतिबद्घता व्यक्त गरे ।
पछिल्लो समय सूचना प्रविधीको विकाससँगै पत्रकारिताको शैलीमा पनि परिवर्तन भइरहेकाले त्यसलाई आत्मसात गर्दै अघि बढ्न उनले तालिमका सहभागी पत्रकारहरुलाई सुझाव दिए । ‘अहिलेको समय एआईको हो, यसलाई सदुपयोग गर्दै आफूलाई सक्रिय राख्नुहोस् ।’ मन्त्री अधिकारीले भने । उनले लामो संघर्षबाट प्राप्त लोकतन्त्र सदैव बचाइराख्न आवश्यक रहेको भन्दै उनले सबै क्षेत्रमा यसमा लागिपर्नुपर्ने बताए । मुलुक लोकतान्त्रिक प्रणालीबाट अगाडि बढिरहेकाले जुन पार्टीको सरकार आएपनि लोकतन्त्रिक पद्दति नै प्रतिफल भएको बताए ।
पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष सारुले प्रतिपक्षीको भूमिकामा मिडिया हुनुपर्ने बताए । ‘आजको परिस्थिति र परिवर्तन सूचना प्राविधिको कारणले भएको हो’, सारुले भने, ‘यो कन्टेन क्रियटरको युग हो, हामीले गर्ने पत्रकारिताको मोडल परिवर्तन हुनुपर्छ ।’ पछिल्लो समय सरकारी विज्ञापनमा बिचौलियामुक्त गरी अनियमितता नियन्त्रण गर्ने सरकारी प्रयास राम्रो भएपनि विज्ञापन वितरणमा सरकारी र निजी मिडियामा विभेद हुन नहुने उनले बताए । बिहिबारसम्म सञ्चालन हुने कार्यक्रममा शिव पुरी र अजय शर्माले सहजीकरण गर्नुहुनेछ ।