
हेटौँडा: कक्षा १२ को वार्षिक परीक्षाअन्तर्गत बुधबार आंशिकतर्फको परीक्षामा मकवानपुरमा ४३ जना अनुपस्थित भएका छन् । बुधबार आंशिकतर्फ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा ५ सय १० जना उपस्थित हुँदा ४३ जना अनुपस्थित भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका अनुसार बुधबार भएको परीक्षामा २ सय ३३ जना केटा र २ सय ७७ जना केटी उपस्थित हुँदा १७ जना केटा र २६ जना केटी अनुपस्थित भएका हुन् । यसअघि नियमिततर्फ दोस्रो दिन मंगलबारको परीक्षामा जिल्लामा ५७ जना अनुपस्थित भएका थिए । मंगलबार साधारणतर्फ अनिवार्य नेपाली र प्राविधिक धारतर्फ भएको सामाजिक अध्ययन विषयको परीक्षामा जिल्लामा ३ हजार ९ सय ४६ जना उपस्थित हुँदा ५७ जना अनुपस्थित भएका थिए । दोस्रो दिनको परीक्षामा २ हजार ६६ जना केटा र १ हजार ८८० जना केटी उपस्थित हुँदा ३४ जना केटा र २३ जना केटी अनुपस्थित भएका थिए ।
मकवानपुर जिल्लामा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरबाट कक्षा–१२ को परीक्षामा सहभागी हुन ५ हजार २६९ जना विद्यार्थीले फारम भरेका छन् । नियमिततर्फ ३ हजार ८२२ र आंशिकतर्फ १ हजार ४४७ जनाले परीक्षा फारम भरेका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म भइरहेको छ । सोमबारदेखि सुरु भएको परीक्षा बैशाख २७ गतेसम्म चल्नेछ ।