Home मुख्य समाचार कैलाश-३, खिर्कीका बीस घरमा शौचालय बन्दै

कैलाश-३, खिर्कीका बीस घरमा शौचालय बन्दै

शौचालय निर्माणका लागि प्यान हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान ।

कैलाश : मकवानपुरको कैलाश गाउँपालिका–३, खिर्कीको बीस घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माण हुने भएको हो । सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयहरुमा खुसी छाएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै समय सीमाभित्र निर्माण गर्न आग्रह गर्नुभएको छ । खाल्डो खनिसकिएकोले २५ दिनभित्र निर्माण सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो । राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने उहाँले बताउनुभयो । जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गर्नुपर्ने सुझाव दिनुभयो । ‘संस्थाको आफ्नो नियम रहन्छ, समय सीमाभित्रै शौचालय निर्माण गर्नुस्’, उहाँले भन्नुभयो,– ‘गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ ।’

बाल विकास कार्यक्रम नेपालले २० घरधुरीलाई शौचालय निर्माणका लागि पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको छ । यसअघि पनि संस्थाले वडा तहका कार्यालयका लागि विभिन्न सरसफाई सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण भट्टराई, संस्थाका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाको निमय र लाभग्राहीसँगको सम्झौताअनुरुप सामग्री हस्तान्तरण गरेको २५ दिनभित्र निर्माण सम्पन्न हुनुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापातालगायत अन्य सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

Exit mobile version