हेटौँडा : नेपाली काँग्रेस मकवानपुर समितिको नियमित बैठकले जिल्लास्थित सबै तहका समितिहरुको भेला गर्ने निर्णय गरेको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाँउपालिका–१ सिम्लाङमा बसेको जिल्ला समितिको बैठकले जिल्ला भित्रका सबै तहको पालैपालो भेला गर्ने निर्णय गरेको हो ।
जिल्ला समितिको बैठकले मकवानपुर भित्रका सबै पालिकाका वडाहरुको भेला मंसिर २२ गते एकै दिन आयोजना गरिने नेपाली काँग्रेस मकवानपुरका जिल्ला समितिका सचिव भिमसेन महतले जानकारी दिनुभयो । यस्तै मंसिर २५ गते पालिकास्तरका समितिहरुको भेला बोलाइने निर्णय भएको छ भने मंसिर ३० गते संघीय निर्वाचन क्षेत्रका समितिहरुको भेला बोलाइने र अन्तिममा पुष १६ गते जिल्ला समितिको भेला गर्ने पनि सचिव महतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने विषयमा अलमलमा परेको भएपनि यि भेलाहरु महाधिवेशनबारे निक्र्यौल निकाल्न नभई पार्टीको विधान अनुसारको नियमित वार्षिक भेलाहरु हुने पनि सचिव महतले स्पष्ट पार्नुभएको छ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता थियो ।
