हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हिउँदे अधिवेशन तथा नगरसभा आगामी पुस ११ गते आह्वान गर्ने भएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाको ७५ औं कार्यपालिकाको बैठकले पुस ११ गते नगरसभा आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर ९ गतेसम्म संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा पालिकाको आन्तरिक श्रोत गरी ७० करोड ३१ लाख ८८ हजार रुपैयाँ अर्थात् कुल अनुमानित आयको २४ प्रतिशत आम्दानी भएको जनाएको छ । खर्चतर्फ ४० करोड ८१ लाख ४ हजार अर्थात् अनुमानित व्ययको १४ प्रतिशत खर्च भएको जनाएको छ ।
कार्यपालिका बैठकले हेटौंडा–१० स्थित डम्पिङ साइट (फोहोर प्रशोधन तथा विसर्जन केन्द्र)को स्तरोन्नतिका लागि आयोजना प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । उक्त आयोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामुदायिक परियोजना अन्तर्गत सञ्चालन गरिने संघीय सरकारबाट ९० प्रतिशत र उपमहानगरपालिकको १० प्रतिशत साझेदारी रहने गरी स्तरोन्नति हुने पनि बैठकको निर्णयमा स्पष्ट पारिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा तोडफोड तथा आगजनीबाट हेटौंडा उपमहानगरपालिका कार्यालय तथा वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु प्रभावित भएको हुँदा प्राविधिकको लागत अनुमानअनुसार मर्मत सम्भार कोषबाट निर्माण प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ । यसका साथै, आन्दोलनको क्रममा बढी क्षति भएका ६ वटा वडाहरुलाई मेशिनरी औजार उपकरण खरिद गर्न प्रतिवडा ५ लाखका दरले ३० लाख उपलब्ध गराउने निर्णय गरिएको छ । यस्तै, हेटौंडा–४ स्थित भित्री सडकहरुमा खाल्डाखुल्डी भई आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेकाले मर्मत सम्भार कोषबाट खर्च हुने गरी मर्मत प्रक्रिया अघि बढाउने निर्णयसमेत कार्यपालिकाले गरेको छ ।
