हेटौंडा : बागमती गाउँपालिकाको आयोजनामा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस महिनामा हुने भएको छ । गाउँपालिकाको वार्षिक क्यालेण्डरअनुसार आठौँ संस्करणको प्रतियोगिता अगामी पुस महिनामा हुन लागेको बागमती गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो ।
प्रतियोगिता पुस ११, १२ र १३ गते हुनेछ । छात्र र छात्राको भलिबल, कबड्डी, फुटबल, दौड, हाइजम्प, कराँते, तेक्वाण्डो र उसु छुट्टाछुट्टै खेलाइनेछ । यो वर्ष फुटबल र उसुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक समावेश गरिएको शिक्षा शाखा प्रतिनिधि राईले बताउनुभयो ।
बागमती गाउँपालिकाले शुक्रबार सूचना जारी गरी गाउँपालिकाभित्रका विद्यालयहरुलाई सहभागी हुन आह्वान गरेको छ । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । भलिबल र कबड्डीको प्रत्येक टिममा बढीमा ९÷९ जना र फुटबलमा १८÷१८ जना खेलाडी राख्न पाइनेछ । एथ्लेटिक्सतर्फ एक इभेन्टमा २ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
टिम खेलमा एउटा खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउनेछन् । भलिबल र कबड्डीमा अलग अलग खेलाडीको टिम हुनुपर्नेछ । टिम खेलमा एउटा विद्यालयबाट एक टिममात्रै सहभागी हुन पाउनेछ । खेलाडीहरुको बसोबास, यातायातलगायत अन्य खर्च सहभागी विद्यालय स्वयम्ले व्यर्होनु पर्नेछ । सहभागी खेलाडीहरुले अनिवार्यरुपमा ड्रेसमा खेल खेल्नु पर्नेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका (पाचौँ संशोधन) को दफा २(घ) बमोजिमका खेलाडीहरु तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ट्रफी र पदक प्राप्त गर्नेछन् । पदक प्राप्त खेलाडी तथा टिमले जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले जिल्लास्तरीय प्रतियोगितामा अनिवार्य भाग लिनु पर्नेछ । प्रतियोगिता बागमती–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुनेछ ।
