हेटौँडा: गत असोज १९ मा हेटौंडा–२ स्थित हाम्रो घर बालगृह नजिकै फेला परेको शिशु झण्डै दुइ महिनाको उपचारपछि डिस्चार्ज भएका छन् । ५२ दिन भरतपुर अस्पतालमा एनआइसियुमा उपचार गरेपछि बिहीबार शिशुको अवस्था सामान्य रहेको विशेषज्ञ चिकित्सकको सल्लाहपछि डिस्चार्ज गरिएको हो । उक्त शिशु फेला पर्दा अत्यन्तै न्युन तौल रहेको अवस्थामा हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाले संरक्षकको भूमिकामा तत्काल हेटौंडा अस्पताल पुर्याइएको थियो । यद्यपी शिशुको अवस्था नाजुक रहेकोमा हेटौँडामा आवश्यक सुविधा नरहेको भन्दै हेटौँडा अस्पतालले भरतपुर अस्पताल रिफर गरेपछि एनआइसियु तथा कङ्गारु मदर केयर (केएमसी) सुविधामा राखेर उपचार गरिएको थियो ।
बिहीबार शिशुको तौल करिब १ हजार ८ सय ग्राम पुगेपछि खतरामुक्त रहेको जनाउँदै शिशुको डिस्चार्ज गरिएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले बताउनुभयो । बिहीबार शिशुको हेटौँडा फिर्तापछि हेटौँडा अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को निगरानीमा राखिएको छ । हालसम्म शिशुको अभिभावकबारे केही जानकारी नआएकोले शुक्रबारदेखि बाल संरक्षण केन्द्रमा राखेर स्याहार गरिने पनि लामिछानेले स्पष्ट पार्नुभएको छ ।
