Home मुख्य समाचार बागमतीमा थपिए २ लाखभन्दा धेरै मतदाता

बागमतीमा थपिए २ लाखभन्दा धेरै मतदाता

हेटौंडा : बागमती प्रदेशमा २ लाखभन्दा बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभाको चुनाव घोषणापछि २ लाख ४ हजार ९ सय ५ जना नयाँ मतदाता थपिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका सहायक प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नयाँ थप भएकाहरुमध्ये कार्यालयमै गएर फोटो खिचाउनेतर्फ ९९ हजार ३ सय ३४ जना र राष्ट्रिय परिचयपत्र प्रयोग गरेर आवेदन गर्नेतर्फ १ लाख ५ हजार ५ सय ७१ जना मतदाता छन् । बागमती प्रदेशको मकवानपुर जिल्लामा १४ हजार ६ सय ३ जना, दोलखामा ६ हजार ६ सय ८७ जना, रामेछापमा ६ हजार एक सय २ जना, सिन्धुलीमा ७ हजार ३९ जना, काभ्रेपलाञ्चोकमा १४ हजार ३ सय २९ जना, सिन्धुपाल्चोकमा ६ हजार ९ सय ३९ जना, रसुवामा ९ सय ३४ जना र नुवाकोट जिल्लामा ९ हजार एक सय ८९ जना नयाँ मतदाता थप भएका हुन् । यसैगरी, धादिङ जिल्लामा ८ हजार ४ सय ३१ जना, चितवनमा २२ हजार २ सय ६३ जना, भक्तपुरमा २० हजार एक सय ७७ जना, ललितपुरमा २६ हजार ८ सय ११ जना र काठमाडौं जिल्लामा ६२ हजार ४ सय १ जना थपिएका हुन् ।

कानुनबमोजिम निर्वाचन तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था छैन । तर यो वर्ष धेरै युवाहरु छुटेको भनेर माग आएपछि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म देशभरका निर्वाचन कार्यालयहरुले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य गरेको थियो । अध्यादेशअनुसार कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय तोकिएको थियो । तर, धेरैले नाम दर्ता गराउन बाँकी भएकोले थप ५ दिन म्याद थप गरिएको थियो ।

दोहोरो परेको, मृत्यु भएको, बसाइँसराइ गराएकाहरुको अद्यावधिक गर्ने कार्य भइरहेकोले संकलित विवरणमा केहि हेरफेर हुनसक्ने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका सहायक प्रमुख आचार्यले बताउनुभयो । मंसिर २० गतेभित्र अन्तिम मतदाताको नामावली प्रकाशन गरिने उहाँको भनाइ छ । नामावलीमा कुनै त्रुटि भए सच्याउन, कुनै मतदाताको नामावली एकभन्दा बढी ठाउँमा समावेश भए एक ठाउँमा मात्र कायम गर्न, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरुको नाम मतदाता नामावलीबाट हटाउन मंसिर २१ गतेदेखि २७ गतेसम्म सूचना वा निवेदन दिन सकिनेछ । त्यस्ता निवेदन वा सूचना निर्वाचन आयोगको वेवसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा दिन सकिनेछ ।

Exit mobile version