हेटौँडा : ललितपुरको सातदोबाटोमा जारी ‘सी’ डिभिजन छनोट प्रतियोगितामा मकवानपुरको पिप्ले युवा क्लब पहिलो खेलमा पराजित भएको छ । शुक्रबार भएको खेलमा पिप्ले मुसौरिया फुटबल क्लबसँग ३–२ गोलअन्तरले पराजित भएको हो । दुईपटक खेलमा अग्रता लिए पनि हार टार्न सकेन ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अग्रता लिएको पिप्लेले ६ मिनेट थप गरिएको इन्जुरी समयमा २ गोल व्यहोर्दै हार व्यहोर्न बाध्य भएको हो । पिप्ले युवा क्लबका प्रशिक्षक ज्ञानु क्षेत्रीले राम्रो खेल खेल्दा खेल्दै पनि अन्तिममा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य हुनु परेको बताउनुभयो । अब पिप्ले युवा क्लबले समूह चरणको दोस्रो तथा अन्तिम खेल मंसिर १२ गते पञ्चकोशी युवा क्लबसँग खेल्नेछ । त्यसअघि पञ्चकोशी र मिसौरियाबीच मंसिर ९ गते प्रतिस्पर्धा हुनेछ ।

यसैबीच सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेलिरहेको पिप्ले युवा क्लबलाई २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । सरस्वती युवा क्लब कोटेश्वरका पूर्व खेलाडी एवम् भेट्रान्सका सदस्य शत्रुघन भुजेलले २५ हजार रुपैयाँ सहयोग गरेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरे जानकारी दिनुभयो । बिहिबारदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु भएको प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ३९ वटाको टिमको सहभागिता रहेको छ । छनोट प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश पाउनेछ ।