हेटौँडा : हेटौँडा–६, भुलभुलेस्थित अर्जुन कुमार श्रेष्ठको घरमा चोरी गर्दै गरेको अवस्थामा स्थानीयले मकवानपुरको बागमती गाउँपालिका–८, साततलेका ३९ वर्षीय दिलबहादुर स्याङ्तानलाई समातेका छन् ।
मंगलबार राती ८ बजेर २० मिनेटको समयमा श्रेष्ठको घरको ताला फुटाएर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले दिलबहादुरलाई समातेका हुन् । स्थानीयले दिलबहादुरको साथबाट बा प्र ०२–००७ प ६५१६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । स्थानीयले दिलबहादुरलाई प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोलीको जिम्मा लगाएको छ । स्थानीयले चोरीमा संलग्न अरु पनि रहेको र उनीहरु फरार भएको जनाएका छन् । प्रहरीले दिलबहादुरलाई हिरासतमा राखेर चोरी तथा डाँका कसुरमा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।











