Home मुख्य समाचार राष्ट्रिय परिचयपत्र सेवाका लागि दैनिक ११ घण्टा सेवा सुचारु हुने

राष्ट्रिय परिचयपत्र सेवाका लागि दैनिक ११ घण्टा सेवा सुचारु हुने

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा एक हप्ताका लागि विस्तार गरेको छ । सेवाग्राहीहरुको बढ्दो चापका कारण आज मंसिर १ गतेदेखि ७ गतेसम्म बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने भएको हो ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेलगायत विविध कारणले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको दर्ता काउन्टरमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले थप समय सेवा दिने भएको छ । आज सोमबारदेखि शनिबारबाहेक अरु दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म परिचयपत्रसम्बन्धी सेवा दिने सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रमार्फत् मतदाता नामावली दर्ता गर्दा निर्वाचन कार्यालयमा छुट्टै बायोमेट्रिक गर्नु नपर्ने गरी कात्तिक २७ गतेदेखि प्रक्रिया सहज बनाएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दैनिक २ सय ५० देखि ३ सय जनासम्म सेवाग्राही राष्ट्रिय परिचयपत्र दर्ता गर्न तथा बायोमेट्रिक सेवा लिन आएकोले सेवाग्राहीको सुविधाका लागि समयावधि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी भुषालले स्पष्ट पार्नुभयो । हाल जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता तथा बायोमेट्रिक सेवाका लागि ४ वटा मेसिनसहितका स्टलमार्फत् सेवा दिँदै आएको छ ।

Exit mobile version