Home मुख्य समाचार प्रदेश अस्पतालहरुका ओपीडीमा बिरामीको चाप बढ्दै

प्रदेश अस्पतालहरुका ओपीडीमा बिरामीको चाप बढ्दै

हेटौंडाः बागमती प्रदेशका सबै प्रदेश अस्पतालहरुमा नयाँ ओपीडी सेवा लिने बिरामीहरुको चाप वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने प्रदेशस्तरीय वार्षिक समीक्षाको उद्घाटन कार्यक्रममा अस्पतालहरुको अवस्थाबारे जानकारी दिइएको हो ।

कार्यक्रममा पछिल्लो तीन वर्षको तथ्याङ्क प्रस्तुत गर्दै प्रतिवर्ष प्रदेश अस्पतालहरुमा ओपीडीमार्फत् उपचार गराउने नयाँ बिरामीहरुको संख्या बढ्दै गएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १३ वटै अस्पतालहरुमा नयाँ ओपीडीमार्फत् उपचार गराउने बिरामी १ लाख ५४ हजार ७ सय ९९ रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा वृद्धि भई ३ लाख १८ हजार ३ सय ३१ जना पुगेका थिए । गत आर्थिक बर्ष २०८१/०८२ मा ओपीडीका बिरामी संख्या ४ लाख ६६ हजार रहेको स्वास्थ्य निर्देशनालयले तथ्याङ्क प्रस्तुत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशमा स्वास्थ्य क्षेत्रमा भएका संस्थागत समस्याहरु हटाउन आगामी दिनमा गर्ने योजनाहरुबारे उल्लेख गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेशको स्वास्थ्य मन्त्रालयबाट भएका नीति तथा कार्यक्रम र प्राथमिकताबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासकहरु दिनेश रुपाखेती र सञ्जु रायले वर्तमान प्रदेशका स्वास्थ्य संस्थाको अवस्था तथा कार्यक्रमहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंका प्रमुख डा. रवीन भुषालले आगामी वर्ष प्रदेशले आयुर्वेद तथा वैकल्पिक चिकित्साका लक्षित कार्यक्रम तथा अवस्थाबारे जानकारी दिनुभयो ।

वार्षिक समीक्षा कार्यक्रमको उद्घाटनमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक डा. नारायण कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बसन्त अधिकारी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख दीपक तिवारीलगायत विभिन्न जिल्लास्थित स्वास्थ्यसम्बन्धी संस्थाका प्रतिनिधिहरुको सहभागिता छ । कार्यक्रम मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ ।

Exit mobile version