हेटौंडाः गौरीटार रङ्शालामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ फुटबल क्लब भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा जित निकाल्दै लालीगुराँस र चित्लाङ फाइनल पुगेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लबले काँक्रेविहार युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । लालीगुराँसका मुकुन्दकुमार न्युरेले खेलको २० औँ र राम थापाले ९० औँ मिनेटमा गोल गरेका हुन् । प्लेयर अफ द म्याच बनेका न्युरेले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
सेमिफाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लबले नवजनजागृति युवा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिँदा पेनाल्टी सुट आउटमा पुगेका थियो । पेनाल्टी सुट आउटमा चित्लाङ फुटबल क्लबले नवजनजागृति युवा क्लबलाई ९–८ गोल अन्तरले पराजित गरेको हो ।
पेनाल्टी सुट आउटमा चित्लाङका कृष्ण राना भट्ट, जय गुरुङ, गौरव श्रेष्ठ, मदन स्याङ्तान, लहान सुबा पटन्गवा, रोशन पहरी, सुविनकुमार लुंगेली मगर, चन्दनकुमार दास र विज्ञान खड्काले गोल गरेका थिए । कुलदीप कार्की गोल गर्नबाट चुकेका थिए । यसैगरी नवजनजागृतिका विकास दर्लामी मगर, पुजन थापा, सुजन डंगोल, देवेन्द्र तामाङ, निग्मा घिसिङ, प्रताप सिंह राई, योगेश धिमाल र दीपक थापा मगरले गोल गरेका थिए । अविनाश स्याङ्तान र रुजन न्यौपाने गोल गर्नबाट चुकेका थिए ।
सेमिफाइनल खेलेका चार टालीले एन्फाको आयोजनामा हुने अगामी राष्ट्रिय लिग खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिता विजेता टोलीले १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछन् ।
