Home मुख्य समाचार म्यानेजमेन्टका १८ जना विद्यार्थी एमबीबीएस छात्रवृत्तिमा सफल

म्यानेजमेन्टका १८ जना विद्यार्थी एमबीबीएस छात्रवृत्तिमा सफल

एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुसँग प्रिन्सीपल पुरनबहादुर जोशीसहित शिक्षकहरु ।

हेटौँडा : चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको छात्रवृत्ति परीक्षामा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट सहभागी १८ जना विद्यार्थीले एकसाथ नाम निकाल्न सफल भएका छन् । म्यानेजमेन्टले कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएर अध्ययन सुरु गरेदेखि ने विद्यार्थीलाई एमबीबीएसको छात्रवृत्ति परीक्षाका लागि तयारी गराउने गरेको छ ।

कात्तिक १५ गते लिएको परीक्षाको नतीजा सोमबार साँझ सार्वजनिक गरेको थियो । यो वर्ष एमबीबीएस तयारी कक्षामा सहभागी ४१ जना विद्यार्थी मध्ये १८ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले यस वर्षको नतीजा उत्साहजनक भएको बताउनुभयो । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको सहजताका लागि गरिएको प्रयास सकारात्मक र सफल भएको प्रिन्सीपल जोशीको भनाइ छ । म्यानेजमेन्टले न्यूनतम शूल्क लिएर, शूल्क तिर्न नसक्नेलाई निशूल्क नै तयारी कक्षामा सहभागी गराएको प्रिन्सीपल जोशीले जानकारी दिनुभयो ।

कात्तिक १५ गते काठमाडौँमा भएको परीक्षामा १८ हजार ८ सय विद्यार्थी सहभागी भएका थिए । आरक्षण र खुला गरी छात्रवृत्तिमा अध्ययनका लागि ६ सय ९१ जना विद्यार्थी छनोट हुनेछन् । गत वर्ष म्यानेजमेन्टबाट १२ जनाले नाम निकाल्न सफल भएका थिए । हेटौँडा स्कूल अफ म्यानेजमेन्टको विज्ञान संकाय संयोजक भोलानाथ गौतमले विद्यार्थीको मिहिनेत र परिश्रमलाई म्यानेजमेन्टले सहयोग गरेको बताउनुभयो । म्यानेजमेन्टले एमबीबीएस प्रवेश परीक्षाको तयारी निरन्तर सञ्चालन गरेर विद्यार्थीलाई सफल हुन सहयोग गरेको उहाँको भनाइ छ । हेटौँडालाई ड्राइभरको सहरबाट डाक्टरको सहर बनाउने योजना रहेको जोशी बताउनुहुन्छ ।

तेस्रो प्रयासमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–२ का राजकिशोर यादव निक्कै खुसी हुनुहुन्छ । राजकिशोरको मिहिनेत र सफलतामा अन्य साथीहरु पनि खुसी छन् । विज्ञान संकायमा २०८० सालमै कक्षा १२ उत्तीर्ण गर्नुभएका राजकिशोरले २ पटकसम्म एमबीबीएस छात्रवृत्ति परीक्षामा सहभागी भए पनि नाम निकाल्न सफल हुनुभएन । त्यसपछि राजकिशोर हेटौँडा स्कूल अफ म्यानेजमेन्टले सञ्चालन गरेको एमबीबीएस छात्रवृत्ति परीक्षा तयारी कक्षामा सहभागी हुनुभयो । शूल्क पनि तिर्न नसके पनि राजकिशोरले तयारी कक्षाबाट भने बञ्चित हुनुपरेन ।

थाहा नगरपालिका–३, शिखरकोटका परीक्षित रायमाझीले नवौं नम्बरमा नाम निकाल्न सफल हुनुभयो । कक्षा–११ र १२ मा विज्ञान विषयको मूल अध्ययनलाई भन्दा पनि तयारी कक्षालाई बढी प्राथमिकता दिँदा नाम निकाल्न सफल भएको रायमाझी बताउनुहुन्छ । कात्तिक १५ गतेको परीक्षा सकिए लगत्तै नाम निक्लने निश्चित ठान्नुभएका रायमाझीले परीक्षाको तयारीमा म्यानेजमेन्टले उपलब्ध गराएको वातावरण र तयारी कक्षा महत्वपूर्ण भएको बताउनुभयो । हेटौँडा–८ की श्रेया खड्का दोस्रो पटकको प्रवेश परीक्षामा सफल हुनुभएको छ । खड्काले एमबीबीएसमा नाम निकाल्नकै लागि एक वर्षदेखि निरन्तर तयारी गरिरहनुभएको थियो । म्यानेजमेन्टमा तयारी कक्षाका लागि उपयुक्त वातावरण भएकै कारण आफू सफल भएको उहाँको भनाइ छ ।

म्यानेजमेन्टले ५ वर्षदेखि एमबीबीएस छात्रवृत्ति परीक्षामा सहभागी हुनका लागि आवश्यक तयारी कक्षा सञ्चालन गर्दै आएको छ । कक्षा–११ मा भर्ना भएका विद्यार्थीमध्ये एमबीबीएसको तयारी गर्न चाहने विद्यार्थीलाई बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म विशेष कक्षाको व्यवस्था गर्ने गरेको छ । तयारी कक्षाको प्रभावकारिताकै कारण हरेक वर्ष सफल हुने विद्यार्थीको संख्या र दर बढ्दै गएको छ ।

Exit mobile version