सौराहा (चितवन) : ‘हामी आज यहाँ जसरी प्रश्न गरिरहेका छौं । कुनै न कुनै स्थानमा हामी सबै जवाफ दिने तहमा पनि छौं । हामी आफ्नो परिवार भित्रको कुरा बाहिर छरपष्ट परिरहेका छौं ।’ शनिबार राती १०ः३० बजेको समयमा रास्वपा केन्द्रीय सदस्य राजन गौतम भन्दै हुनुहुन्थ्यो ।
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकको समापनका क्रममा धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले पार्टीका शिर्ष नेतृत्व नै पार्टीको हित विपरित मिडियाबाजीमा उत्रिएको बताउनुभयो । राती अबेरसम्म रास्वपाका नेताहरुले राखेका ५ प्रतिवेदन माथिको छलफलपछि समापन सत्रमा बोल्दै गर्दा केन्द्रीय सदस्य गौतमले भन्नुभयो, ‘यहाँ कुर्सी खाली छ । फेरि पनि कुर्सी कै लडाइ चलिरहेको छ ।’ पार्टीको महाधिवेशनमा नेतृत्वको विषयलाई लिएर उहाँले उक्त अभिव्यक्ति दिनुभएको थियो । उहाँले चुनाव अगाडि पार्टीको महाधिवेशन माग गर्ने र पार्टीको नेतृत्व परिवर्तन माग गर्नेहरु प्रति लक्षित गर्नुहुँदै सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले पार्टी नेतृत्व परिवर्तन अझै परिवर्तन गर्ने अवस्था नरहेको र रवि लामिछानेको विकल्प खोज्नु उचित नभएको टिप्पणी गर्नुभयो । दलका नेताहरु नेतृत्व हस्तान्तरणको विषयलाई लिएर अनावश्यक मिडिया स्टण्ट गरिरहेको उहाँको भनाई थियो ।
रास्वपा चितवन अध्यक्ष कृष्ण भुषालका अनुसार रास्वपा पहिले फर्मेसन भएपछि मात्र रिफर्म हुन्छ । उहाँको अभिव्यक्ति केन्द्रीय सदस्य तोषिमा कार्की लक्षित थियो । कार्कीले विस्तारित बैठकको अन्त्यतिर राखेको सुझाव सहितको प्रतिवेदनमा पार्टीले पुनर्गठन गर्नुपर्ने र महाधिवेशन फागुनको निर्वाचन अघि नै गर्न माग गर्नुभएको थियो । त्यसको प्रतिउत्तरमा पार्टी गठन नै नभई रिफर्मेशन माग गर्नु उचित नभएको भुषालको भनाई थियो । उहाँले वडा, पालिका, जिल्ला प्रदेशका संरचनाहरुको फर्मेशन पछि मात्र महाधिवेशन गर्नुपर्ने र त्यसको जिम्मेवारी सबै केन्द्रीय तहका नेतृत्वको हुनुपर्ने बताउनुभयो । पार्टीको नेतृत्वमा बसेर अवसर लिने तर, जिम्मेवारी पूरा नगरी रिफर्मेशनको माग गर्नु अनुचित भएको उहाँको भनाई थियो ।
पार्टीको राजनीतिक भविष्यको मार्गचित्र कोर्न चितवनको सौराहामा कात्तिक २१ र २२ गते आयोजना गरेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा स्पष्ट रुपमा पार्टीभित्र गुटबन्दी र आन्तरिक कलहको मारमा देखिन्थ्यो । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, फरक मत र नेतृत्वको विषयमा देखिएको मतान्तरले पार्टीभित्र आन्तरिक कलहलाई स्पष्ट पारेको थियो । बैठकमा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधि सहभागी बैठकमा एजेण्डामा भन्दा पनि गुटगत बैठकहरु बढी चलेको देखिन्थ्यो । पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र चुनावी एजेन्डाका विषयमा गहन छलफलमा उनीहरुको सहभागिता न्युन थियो । तर, आन्तरिक विषयहरु मिलाउन प्रदेश र जिल्लागत बैठकमा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विशेषगरी कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका अध्यक्षसहितका प्रतिनिधिहरु आन्तरिक विवाद व्यवस्थापनमा छलफलमा थिए । उनीहरु कार्यवाहक सभापति डिपी अर्यालसहित शिर्ष नतृत्वसँग छुट्टा छुट्टै छलफलमा थिए । उनीहरु आफ्ना मागहरुसहित केन्द्रीय समितिसँग छलफलमा जुटिरहेका थिए ।
विस्तारित बैठकको सुरुवातमा नै कोशी प्रदेशले असहमति राख्दै आफ्ना मागहरु पूरा गर्न आग्रह गरेको थियो । कोशी प्रदेशले पार्टीको विधानले प्रदेश सभापतिलाई पदेन केन्द्रीय सदस्य मानेको अवस्थामा ‘कार्यवाहक’ सभापति भएकोले केही अस्पष्टता बारे स्पष्ट पार्न माग गरेको थियो । कोशी प्रदेशका सभापतिलाई रास्वपाले कारवाही गरेर कार्यवाहकको जिम्मेवारी सरिना तामाङलाई दिएको छ । विस्तारित बैठकमा तामाङको प्रतिनिधित्व र पदेन केन्द्रीय सदस्य रहने बारे नेतृत्वबाट फुकाउने कुरा माग गर्नुभएको थियो ।
‘हाम्रो कोशी प्रदेशका अहिले कार्यवाहक सभापति (सरिन तामाङ) हुनुहुन्छ । पार्टीको विधानअनुसार प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । तर, चितवनको कार्यक्रममा सबै नेताहरुको फोटो राख्दा हाम्रो कार्यवाहक सभापतिको छुट्यो ।’ बैठकमा सहभागी कोशी प्रदेशका एक नेताले भने, ‘केन्द्रले उहाँलाई सभापतिको हैसियतमा काम गर्न दिएको छ । तर फोटो नराख्दा विभेद भयो कि भन्ने हाम्रो चासो हो । हामीले यही विषयलाई उठाएका हौं । तर, यसलाई मिडियामा अलि बढी उचालियो कि जस्तो लाग्यो । यदि केन्द्रले उहाँलाई सभापति मान्दैन भने त्यो पनि स्पष्ट भन्नुप¥यो, हामी पनि मान्दैनौं । तर, मान्ने हो भने फोटो किन छुटाएको ? हाम्रो प्रश्न यति मात्रै हो ।’
बैठक कै बीच उद्घटन सत्र पछि कार्यवाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन पेश भएको थियो । सो लगत्तै केन्द्रीय सदस्य तोषिमा कार्कीले केही बोल्न खोज्दै हात उठाउनुभएको थियो । तर, उहाँलाई समय उपलब्ध गराइएको थिएन । पटक–पटक उहाँले समय माग गर्नुभयो तर, महामन्त्री कविन्द्र बुर्लाकोटीले समय दिनुभएन । बैठकमा बुर्लाकोटीको सांगठानिक प्रतिवेदन कै क्रममा रहेका बेला कार्कीले पुनः हात उठाएर समय माग्नुभयो । बुर्लाकोटीले कार्यक्रमको तालिकाभन्दा बाहिरको विषयलाई समेट्न नसक्ने भन्दै कार्कीलाई रोक्नुभयो । सोही क्रममा नेतृ निशा डाँगीले कार्यवाहक सभापति डिपी अर्याल समक्ष पुगेर कार्कीलाई समय उपलब्ध गराउन माग गर्नुभयो । डाँगीको आग्रहपछि उपयुक्त समयमा कार्कीको विषय बैठकमा राख्न दिने गरी समय उपलब्ध गराउने बताउनुभएको थियो ।
पहिलो दिनको कार्यक्रममा कार्कीलाई समय उपलब्ध गराइएन । जसका कारण हलभित्र र बाहिरको माहोल थप विवादित बन्दै गएको थियो । कार्की आन्तरिक छलफलमा हरेक जिल्लाका प्रतिनिधिहरुसँग समूहगत भेटमा व्यस्त हुनुहुन्थ्यो । उहाँ पार्टीको रिफर्मेशन र नेतृत्वका विषयमा अन्य प्रतिनिधिहरुसँग छलफल गरिरहनुभएको थियो । कार्कीले प्रस्तुत गर्नुभएको ‘रिफर्मेसन मार्गचित्र’ ले पार्टीको सांगठनिक, वैचारिक र नीतिगत तहमा रुपान्तरणको खाँचो औँल्याउनुभएको थियो । कार्कीले आफ्नो प्रस्तावमा हालको राजनीतिक परिस्थिति र जनअपेक्षालाई सम्बोधन गर्न रास्वपा ‘मूलधारको शक्ति’ बन्नुपर्नेमा जोड दिनुभयो । यसका लागि पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा व्यापक पुनरावलोकन र पुनर्संरचना आवश्यक रहेको उहाँको तर्क छ ।
डिपी–स्वर्णिमको सम्बन्ध र दीपक फ्याक्टर
विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेको सम्बन्ध पनि सौहार्द नभएको प्रष्ट थियो । पार्टीका गतिविधिमा उनीहरु सँगै देखिएपनि आन्तरिक रुपमा उनीहरु एक अर्का बीचको सम्बन्धमा सौहद्र्धता भेटिन्न थियो । बैठकको समापन सत्रमा उक्त विषयलाई डिपीले चिर्ने प्रयत्न समेत गर्नुभएको थियो । तर, बैठक भरिका घटनाक्रम र केन्द्रीय शिर्ष नेतृत्वका अनुसार दुई जना बीच पार्टीको नेतृत्वको विषयलाई लिएर मतभेद छ । डिपी २ कार्यकाल रवि लामिछानेको विकल्प खेज्न नहुने बताउनुहुन्छ भने आयातित व्यक्तिलाई सभापति स्वीकार गर्न सक्ने अवस्था नरहेको केन्द्रीय तहका नेताहरुको भनाई छ । पछिल्लो समय पार्टीभित्र नेताहरू, विशेषगरी स्वर्णिम वाग्ले र अन्य शीर्ष नेतृत्वबीच मतभेद रहेको भन्ने हल्लाको खण्डन गर्नुहुँदै डिपीले भन्नुभयोे, ‘यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित नहोस् र यसले देशको बागडोर नसम्हालोस् भनेर रचिएको प्रपञ्च हो । हाम्रो मित्रतामा कहिल्यै कमि आएको छैन । यस्ता कुरामा हामी अल्मलिनु हुँदैन । यस्ता हल्लाबाट विचलित नहुन र एकढिक्का भएर अघि बढ्न जरुरी छ ।’
यता रास्वपा भित्र केन्द्रीय सदस्य दीपक बोहरा फ्याक्टरको दवदवा उच्च छ । विस्तारित बैठक भर अध्यक्षता ग्रहण गरेका कार्यवाहक सभापति अर्यालका अधिकार माथि बोहरा समूहले पटक–पटक धावा बोल्नुभएको थियो । नेतृत्व माथिको प्रश्न गर्नेहरुलाई बोहरा समूहले रोक्ने र पेल्ने खेल चलाइरहेका थिए । बोहराको निर्देशन अनुसार नै बैठकमा समय नदिएर रोकिएको काहीँ लगाएको प्रस्ताव अन्तिम समयमा पेश गर्न दिइएको थियो । बैठकमा रवि लामिछानेको पक्षमा भएको हस्ताक्षर अभियानको प्रतिवेदन पेश गर्न पगेका बोहराले पार्टीका अन्तरविरोध छताछुल्ल भएकाले मिडियालाई रोक्न समेत निर्देशन गरे । सो लगत्तै महामन्त्री बुर्लाकोटीले अफिसियल मिडिया बाहेक सबैलाई बाहिर जान भन्नुभएको थियो ।
नेतृत्वमाथि पेचिलो प्रश्न, ‘आयातित’ कि स्थापित ?
बैठकको सबैभन्दा पेचिलो विषय बन्न पुग्यो, पार्टीको भावी नेतृत्व । कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा ‘चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीको मूल नेतृत्व नै आयात गर्न नसकिने भन्नुहुँदै टिप्पणी गर्नुभयो । उहाँको टिप्पणी पछिल्लो समय चर्चामा रहेको पार्टीभित्र कुलमान घिसिङ जस्ता लोकप्रिय व्यक्तित्वलाई नेतृत्वमा ल्याउने विषयमा केन्द्रीत थियो । प्रतिवेदनमा उहाँले सभापति रवि लामिछानेकै नेतृत्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
‘पार्टी सुधार वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र प्रचारबाजी स्वीकार्य हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘अहिलेको नेतृत्वलाई विस्थापित होइन, स्थापित गर्ने समय हो ।’ जसले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई थप विवादित बनाएको देखिन्छ । यसले पार्टीभित्र नेतृत्वको विषयमा स्पष्ट २ धार रहेको देखिन्छ । एकातर्फ वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने खेमा छ भने अर्कोतर्फ बाहिरबाट लोकप्रिय व्यक्ति ल्याएर पार्टीलाई थप विस्तार गर्नुपर्छ भन्ने विचारले पनि प्रश्रय पाइरहेको छ ।
आत्मसमीक्षा र आन्तरिक कमजोरीको स्वीकारोक्ति
बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनले पनि पार्टीभित्र आन्तरिक कमजोरी रहेको स्वीकार गर्नुभयो । उहाँले पार्टी संगठनको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसकेको र त्यसको व्यवस्थापनमा अग्रसर हुन्ु जरुरी रहेको औँल्याउनुभयो ।
‘हामी आफ्नै खुट्टामा अल्झिएनौं भने, हामीलाई कसैले लडाउन सक्नेछैन’, उहाँले भन्नुभयो, ‘यदि हामी लड्यौं भने हामी आफ्नै खुट्टामा अल्झिएर लड्नेछौं ।’ रास्वपाको विस्तारित बैठकमा कार्यवाहक सभापति अर्याल भन्नुभयो, ‘हामी कार्यवाहक सभापति अर्यालले पार्टीभित्र आन्तरद्वन्द्व र खुट्टा तान्ने प्रवृत्ति हावी हुन थालेको बताएका थिए । पार्टीका गतिविधि र नेता कार्यकर्ताका कार्यशैली माथि पार्टीका सदस्यहरुले आत्मसमीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यवाहक सभापति अर्यालले पार्टीमा ‘टिम’को भावनाको कमी भएको महसुस भएको बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुलाई दोष दिनुभन्दा पहिले आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गर्नुभयो ।











