काठमाडौं महानगरपालिकाका प्रमुख बालेन यतिबेला चर्चाको शिखरमा छन् । एउटा महानगर प्रमुख यति चर्चित भएको सम्भवतः बालेन नै पहिलो हो । यिनको स्टाटसले मात्र पनि राष्ट्रिय राजनीतिमा तरंग पैदा गर्दछ । राष्ट्रिय हिरो कै रूपमा रहेका बालेनले अचानक राति एउटा स्टाट्स लेखे र केही मिनेटमै तत्काल डिलेट गरेको देखियो । यहि बीचमा धेरैले उक्त स्टाटस स्क्रिनसट गरेका रहेछन् । त्यो स्टाटस सार्वजनिक भैहाल्यो, सार्वजनिक भएलगतै यसबारे सबैले आआफ्ना विश्लेषण, धारणा अभिव्यक्त गरिरहेका छन् । सबै शक्ति अमेरिका, भारत, चीन, नेपालका राजनीतिक दल सबैलाई गाली गरिएको बालेनको अभिव्यक्ति पीडा, आक्रोश, आवेग के हो ?
सहज अनुमान गर्न सकिन्छ, जेन जी आन्दोलनपछि बालेनलाई चर्को ढंगबाट विदेशी एजेण्टको पगरी भिडाई दिएका थिए । यिनलाई कहिले बारबरा फाउण्डेशन कहिले अमेरिकन युथ काँग्रेसको मेम्बर भएको खुलासा गरिएको छ, यिनलाई खासगरी कथित ठूला दलका भनिने केहि मानिसहरू योजनाबद्धरूपमा बालेनलाई कमजोर बनाउन लागेको देखिन्छ । एउटा अन्तरवार्तामा शौरभले बालेनलाई लुसिफरको रूपमा तुलना मात्र गरेनन् यि रहस्यमय व्यक्तिको रूपमा चित्रण गरेका छन् । अहिले लुसिफर भनेको के हो ? मानिसहरू बाईबल खोजी खोजी पढ्न थालेका छन् । समकालिन राजनीतिमा बालेन सर्वाधिक चर्चित र लोकप्रिय व्यक्तिको रूपमा स्थापित छन् । यिनका फ्यान फलोईङ हेर्दा यिनलाई देवत्वकरण गर्नेको संख्या लाखौंमा छन् ।
काठमाडौं महानगरका प्रमुख भएपछि यिनी चर्चामा आए, स्वतन्त्र उमेम्दवारको रूपमा काँग्रेस, एमाले नेतालाई पछारेर विजयी बालेनले न्युरोडको फुटपाथ बिवाददेखि अतिक्रमित घर–टहरा, फोहर फाल्ने सिसडोलको समस्यादेखि बागमति किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा केपी ओलीसँग विवाद चर्कर्दै गएको थियो । सार्वजनिक मञ्चबाट ओलीले बालेनको विरोध गरिरहन्थे । तर यिनी टसका मस भएनन् । केपी भर्सेज बालेनको लडाईमा अन्ततः केपी ओली पराजित भए । जेन जी आन्दोलनले केपीलाई सिधा सरकारबाट सडकमा पु¥यायो । बालेनसँग निहु खोज्दा खोज्दै केपी ओली जेन जी आन्दोलनको दवावमा हेलिकप्टर चढेरै ज्यान जोगाउने अवस्था सिर्जना भयो । त्यति मात्र होईन यिनि माथि जेन जी आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको हत्याको आरोप लाग्यो जुन ईतिहास अब सधै सम्झनामा रहने भयो ।
बालेन आफ्ना अभिव्यक्तिका कारण पनि विवाद र चर्चामा रहिरहे । कुनैबेला सिंहदरबार जलाइ दिन्छु भन्नेदेखि लिएर दुर्गा प्रसाईंको कार्यक्रममा फोहोर गरेको जरिवाना पूर्वराजालाई चिठठी काटेर पनि यिनी चर्चामा आएको देखिन्छ । भष्ट्राचारले थिलथिलो बनाएको मूलूकको राजनीतिमा बालेन आशालाग्दो दियो जस्तो देखिए । महानगरको प्रमुख भएपनि यिनको समर्थक र यिनलाई मन पराउने सामाजिक सञ्जालमा मौरीको बथान जस्तो असंख्य देखिन्छ । एउटा ठूलो जत्था बालेनलाई तारणहार नै ठान्छन् । खासगरी पछिल्लो जेन जी आन्दोलनमा बालेनको भूमिका महत्वपूर्ण देखियो । यद्यपी यिनको आन्दोलनमा कतै सहभागी छैन । न त यिनी आयोजक नै हुन् । तर पनि आन्दोलनकारीले बालेनले के भन्छ भनेर यिनीलाई नेता ठानिरहे । आन्दोलनको अवधिभर यिनको स्टाटसले उर्जा ल्याई रह्यो । जब २३ गते नरसंहार पछिको बालेनको स्टाटसले आन्दोलनकारीलाई उद्वेवेलित बनायो । केपी ओलिप्रति लक्षित उक्त स्टाट्स निक्कै भावनात्मक थियो । यि सारा परिवर्तनमा बालेनले जेन जीहरूलाई आफ्नो स्टाटस मार्फत नैतिक समर्थन गरे । जेन जीहरूलाई संसद विघटनदेखि लिएर सुशीला कार्कीलाई समर्थन गर्ने सम्मको काम गरे । यिनीलाई सर्वसम्मत नै प्रधानमन्त्रि बन्ने अवसर आउँदा नि यिनले मानेनन् । जेन जी आन्दोलन मलाई प्रधानमन्त्री बनाउन नभएको जिकिर गरी रहे । अन्तरिम सरकारको नेतृत्व नगरे पनि बालेन पार्टी खोलेर आउँछ भन्ने थियो । तर त्यो आँट बालेनले गरेनन् खै किन हो, अन्तरिम सरकारमा नजाने ईच्छा हो भने पार्टी खोलेर राजनीति गर्ने साहस पनि गर्नुपथ्र्यो । त्यो पहलकदमी बालेनले लिएको देखीएन ।
जेन जी आन्दोलनपछि बालेनको भूमिकालाई लिएर विरोध शुरू भएको छ । आन्दोलनभरि र त्यसपश्चात पनि बालेन कतै देखिएन भन्ने तिव्र गुनासो छ । यिनी जेन जीको माग र आन्दोलनको समर्थक त देखिए तर आन्दोलनपछिका घटनाक्रमहरू जस्तै धाईतेकोमा पुग्ने, मृतकका परिवार भेट्ने काम गरेनन् भनेर एकथरि मानिस यिनलाई खलपात्र बनाएर हिँडिरहेका छन् । २४ गतेको घटनाको सारा अपजश बालेनको टाउको माथि खन्याउने दुस्साहस गर्दैछन् । २४ मा के भएको थियो जगजाहेर छ । २४ गते त जनता सडकमा आए जेन जीको आवरणमा ठूलो घुसपैठ देखियो । राष्ट्रिय सम्पतिको तोडफोड निजी सम्पति जलाउने जस्ता अपराधि कार्य भए । यो कसको नेतृत्व र योजना भयो छानबिन हुन जरूरी छ । २४ गतेको घटना घट्नुमा २३ गते ससाना नानीहरूमाथि सरकारले गरेको नृशंस हत्या र बर्वर दमनले निम्त्यायको आक्रोशको अभिव्यक्ति थियो ।
तर जेन जीहरूले २३ गते दिउँसो नै सरकार हिस्रंक भएपछि आन्दोलनकारी घर फिर्ता जाउ भने र २४ गतेको घटनाको जेन जीहरूको संलग्नता नरहेको बताइसकेपछि पनि यो बिध्वंस कसको डिजाइनमा भयो । त्यस्को तथ्यपरक अनुसन्धान छानविन आयोगले गर्न किन बिलम्ब गर्दैछ । त्यस दिन जेन जीको आवरणमा विभिन्न स्वार्थसमूहले आफ्नो रोटी सेकेको तथ्य सार्वजनिक भैसकेको छ । गगन थापा भन्दै थिए मेरो घर एमालेको कार्यकर्ताले जलायो, विद्या भण्डारीको घर जलाउने केपी ओली समर्थक युवासंघको नेता रैछन्, जिल्लामा पार्टी कार्यालय जलाउने, नेताका निजी घर जलाउनेमा कांग्रेसको घर एमालेले, एमालेको माओवादीले माओवादीको रास्वपाले यसरी स्थानीयरुपमा भएको रिस राजनीतिक प्रतिशोध आदि कारणले यि घटना घटाइएका देखिन्छ । यि अपराधिक काम हुन यो दण्डनीय कार्य हो । कोहि छानविन दुई महिना बितिसकेको छ । न भदौ २३ गतेका अपराधि समातिए, न भदौ २४ को यत्रो विध्वंसको अपराध क्षम्य हुन सक्छ ? यसमा सरकारको तत्परता कमजोर देखिँदै गएको छ । गृहमन्त्रीको राजिनामाको माग तिब्ररूपमा उठेको छ । सुशीला कार्की पनि शिथिल देखिएका छन् । चुनाव हुनेमा आंशका छ । दलहरू पुनर्गठन, एकता, रुपान्तरित हुँदै बलियो शक्ति निर्माण गर्दै पुनः शक्ति आर्जन गर्ने दाउमा छन् । नयाँ राष्ट्रिय शक्तिको आवश्यकता पनि टड्कारोरूपमा देखिन्छ । मुलुकको नेतृत्व गर्न सक्ने नयाँ र बलियो राष्ट्रिय शक्तिको नायकको हुन सक्छ ? आज यो प्रश्न महत्वपूर्ण छ । विकल्प को हुन सक्छ, सबै टेष्टेट भइसके, रविको छवि नै बिग्रियो, रविलाई लो प्रोफाईल राखेर कूलमान, बालेन, मिलन पाण्डे, रन्जू, सुधन गुरूङ सबै मिल्दा नयाँ शक्ति बन्छ नै, विकल्पबिहिन हुँदा आउने पुरानै पार्टी हो, यहि यथास्थिती नै हो ।
तसर्थ बालेनले साहस देखाउन जरूरी छ । बालेनले जिम्मेवारी नलिँदा पनि बालेनलाई सिध्याउन संगठितरुपमा एउटा शक्ति लागेकै छन् । तसर्थ बालेनले आफु प्रतिको साथ र समर्थनको हेक्का राख्न सक्नूपर्छ । जसको एउटा स्टाटसले राजनीतिमा हलचल पैदा हुन्छ । जो आज अत्यन्तै लोकप्रिय छ । उसले सुविचारित ढंगले अघि नबढ्ने हो भने यि पनि ठूलो आलोचनात्मक पात्र हुन सक्छन् । बालेन साहलाई बदनाम गर्नका लागि एउटा नियोजित जथ्था सधैं सक्रिय देखिन्छ । जब ठूला आरोप लगाउने विषय भेटिन्न, त्यतिबेला यस्ता साना कुरा जस्तै उनी कालो चस्मा खोल्दैनन्, जनप्रतिनिधि भएर जनतासँग घुलमिल हुँदैनन्, अन्तरवार्ता दिंदैनन्, प्रेसमैत्री छैनन् भनेर जनतालाई दिग्भ्रमित पार्ने प्रयास गरिन्छ । हिजो पनि यस्तै शक्ति उनको विरुद्ध लागेको थियो र अहिले पनि जब उनी अझ दृढ भएर उभिएका छन्, ती शक्तिहरू फेरि सक्रिय भएका छन् । जनतामाझ जति भ्रम छरे पनि यिनलाई बालेन बालेन भन्ने जमात प्रशस्त छन् । तसर्थ आँट गर्नुस्, खुल्नुस्, जिम्मेवारी लिने नेतृत्व गर्ने ढंगले तयारी गर्नूस । अन्यथा राजिनामा दिँदा राम्रो कम–से–कम अर्को नयाँ विकल्पको बारे बहस त हुन्छ । तसर्थ देश बचाउने अभियानमा सबैले बालेन आईदिँदा हुन्छ कि भन्ने भरोसा छ । यो भरोसा टुट्न नदिऔं । देशलाई नयाँ कोर्सतर्फ अघि बढाऔं । अस्तू ।











