हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयमातहतमा रहेर भोलि सोमबारदेखि ड्युटीमा खटिने प्रहरीले फेस सिल्ड (अनुहार छेकिने प्लास्टिक) लगाउने भएका छन् । प्रहरीमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बागमती प्रदेश प्रहरी कार्यालयले फेस सिल्ड लगाएर प्रहरीलाई ड्युटीमा खटाउन थालेको हो ।
ड्युटीमा खटिने प्रहरीलाई संक्रमण हुनबाट जोगाउन र प्रहरीबाट अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बागमती प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरीलाई फेस सिल्ड उपलब्ध गराईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मातहतका विभिन्न इकाईमा कार्यरत प्रहरीमा समेत कोरोना सङ्क्रमण देखिएकाले सङ्क्रमणलाई थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामाले हरेक प्रहरीलाई फेस सिल्ड उपलब्ध गराई ड्युटीमा बस्दा मास्क, फेस सिल्ड प्रयोग गर्न निर्देशन दिनुभएको छ ।
प्रहरी कार्यालयमा हुन सक्ने सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न पक्राउ परेका व्यक्तिहरुका साथै सङ्क्रमणको जोखिम रहने क्षेत्रमा कार्यरत प्रहरीलाई अनिवार्य पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको डिआईजी लामाले बताउनुभएको छ । प्रहरीलाई समूह समूहमा विभाजन गरी बस्ने, खाने र ड्युटी गर्ने व्यवस्था मिलाइएको उल्लेख गर्नुहुँदै डिआईजी लामाले सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टिन बनाउने, अत्यावश्यक कामले कार्यालय बाहिर जाने प्रहरीलाई क्वारेन्टिनमा बस्ने लगायतका सुरक्षा सावधानी अपनाईएको छ ।