स्वर्ण महोत्सवको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शारदा माविका प्रधानाध्यापकसहितका पदाधिकारी ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयले स्वर्ण महोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी स्वर्ण महोत्सव गर्न लागेको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले विद्यालयको ५० औं वर्षगाँठको अवसरमा विद्यालय, गाउँपालिका र जिल्लास्तरका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । विद्यालयले एक सातासम्म ५८ वटा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्वर्ण महोत्सवको अवसरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता, शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँपालिकास्तरीय खुला चेस प्रतियोगिता, भूतपूर्व विद्यार्थी मित्रता मिलन कार्यक्रम, विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य परीक्षण शिविर, विद्यालय वृत्तचित्र प्रदर्शन, साँस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्शन, विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण, स्मृति चिन्ह अनावरण, अभिभावक लोकदोहोरी प्रतियोगिता र शिक्षक हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रम गरिनेछन् ।

पत्रकार सम्मेलनमा सहभागी हुनुभएका ५ नम्बर वडाध्यक्ष दिपेश दाहालले विद्यालयले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बताउनुभयो । वडाबाट पनि २ लाख ५० हजार सहयोग भएको र आवश्यक परे अझै वडाले सहयोग गर्ने दाहालको भनाइ छ । विद्यालयले गरिब, विपन्न, जेहेन्दार, अभिभावकविहीन, अपाङ्ग र कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई गुणस्तरीय शिक्षा पहुँच पुर्‍याउने लक्ष्यका साथसाथै अक्षय कोषको स्थापना समेत गरेको प्रधानाध्यापक कार्कीले बताउनुभएको छ ।