हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले आगामी फागुन २१ मा हुने चुनावका लागि सुरक्षाकर्मी लगायत कर्मचारीहरुको मनोबल बढाइरहेको बताउनुभएको छ । बिहीबार मकवानपुरका सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुँदै प्रजिअ अधिकारीले निर्वाचनको सुरक्षाबारे बताउनुभएको हो ।
जिल्लामा कार्यरत सुरक्षाकर्मी तथा समग्र कर्मचारीको खस्केको मनोवल बढाउनुपर्ने अवस्था भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीले चुनाव नगराई छुट नपाइने बताउनुहुँदै कार्यालय प्रमुखको बैठकहरुमा पनि यस विषयमा छलफल भएको बताउनुभयो । जेन जीले प्रणाली स्थापना गर्न खोजेको भन्नुहुँदै आन्दोलन सुशासन कायम गर्न, भ्रष्ट्राचाररहित आर्थिक अनुशासन कायम तथा विकृतिलाई हटाउन खोजेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले जिल्लामा भइरहेका एम्बुलेन्सहरु सेवामा अस्पतालसँग मिलेमतो गरी सेवाग्राहीलाई दुःख दिने काम भइरहेको जानकारी प्राप्त भएकोले यसबारे खोजबिन गरिने पनि प्रजिअ अधिकारीले बताउनुभयो ।
यसैगरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जिल्लाको सुरक्षा अवस्थामा सुधार ल्याउन तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको पनि उपस्थिति रहेको अन्तरक्रियामा सञ्चारकर्मीहरुले प्रशासन र प्रहरीले जिल्लामा शान्ति, सुव्यवस्था कायम राख्न जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव दिएका थिए । प्रशासन प्रमुख र प्रहरीले सुरुवाती चरणमा काम गरे जस्तो गर्ने र पछि सुस्ताउने, स्वार्थसमूहको नजिक रहने र उनीहरुबाट प्रभावित हुन सक्ने अवस्थाप्रति पनि सञ्चारकर्मीले प्रअिज र प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
