Home मुख्य समाचार वनसम्पदाको प्रयोगमा सरकार असक्षम

वनसम्पदाको प्रयोगमा सरकार असक्षम

हेटौँडा : वनसम्पदा तथा प्राकृतिक वातावरणीय वस्तुको संरक्षणमा प्रगति भएपनि उच्चतम सदुपयोग गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) को आयोजनामा बिहीबार हेटौँडामा भएको हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा प्रदेशस्तरीय बहुसरोकारवालासँगको संवाद कार्यक्रमका सहभागीहरुले वातावरणको उच्चतम सदुपयोग गर्न नसकिएको बताएका हुन् ।

वातावरणले वन क्षेत्र समेट्ने र समुदायलाई वनपैदावरमा जीवन आश्रित हुनुपर्ने भएपनि विभिन्न कानूनी अड्चनहरु रहेकोले सदुपयोगमा समस्या भइरहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । हाल निजी वनको रुख कटान सम्बन्धी प्रदेश सरकारले कानुनी सहजता बनाएपनि संघीय रुपमा कुनै परिवर्तन नभएकोले सर्वसाधारणमा अन्यौलता बढेको समेत कार्यक्रममा जानकारी दिइएको छ । तीनै तहको सरकारले वन पैदावारबाट उद्यम तथा आर्थिक स्रोत वृद्धि गराउने कार्यक्रमका लागि कुनै नीति तथा कार्यक्रम तयार नगरिएकोले परम्परागत रुपमा मात्र वनपैदावरको उपयोगिता भइहेको सहभागीहरुले जोड दिएका छन् । यस्तै कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका स्थानीयबासीहरुले भोगेका विभिन्न समस्याबारे पनि अन्तरक्रिया गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले पारेका असर तथा स्थानीयबासीहरु लक्षित कार्यक्रम प्रभावकारी नभएको समेत चर्चा गरिएको छ । कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, जिल्ला वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशी, मध्यवर्ती क्षेत्र काउन्सिलका पूर्वअध्यक्ष पदम बहादुर तितुङ, प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुप बहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश समितिकी कोषाध्यक्ष नानीमाया रुम्बा, पारिवारिक तथा निजी वन संघकी आरती पाठक, मकवानपुर जिल्ला बार एसोसिएसनकी पूर्व अध्यक्ष अप्सरा बस्नेत लगायत सिँचाइ महासंघ, वातावरण अभियन्ता लगायतका व्यक्तित्वहरुको सहभागिता थियो ।

Exit mobile version