Home मुख्य समाचार चालु आवको योजना तथा कार्यक्रमबारे अभिमुखीकरण

चालु आवको योजना तथा कार्यक्रमबारे अभिमुखीकरण

अभिमुखीकरण कार्यक्रममा सहभागीहरु ।

हेटौँडा : बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमको सन्दर्भमा तीन जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, पालिकाका शिक्षा प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । बुधबार मकवानपुर, सिन्धुली र चितवन जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तथा स्थानीय तहका शिक्षा प्रमुखहरुसँग अभिमुखीकरण कार्यक्रम भएको निर्देशनालयका शिक्षा अधिकृत होम बहादुर नेपालीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०८२/०८३ को योजना तथा कार्यक्रममा केन्द्रित रहेर छलफल भएको हो । निर्देशनालयले बाँकी १० जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र पालिकाका शिक्षा प्रमुखहरुलाई पनि क्रमशः अभिमुखीकरण गर्दै जाने जनाएको छ । निर्देशनालयका निमित्त महानिर्देशक गोपाल प्रसाद कँडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम भएको हो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री वादेले प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले मातहतका निकायले जिम्मेवार भएर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले संघ, प्रदेश र स्थानीय तीनै तहले आपसमा मिलेर शिक्षाको क्षेत्रमा प्रभावकारी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा सहभागी इकाई प्रमुख तथा शिक्षा प्रमुखहरुले प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय बस कार्यक्रम र शून्य दरबन्दी भएका विद्यालयलाई शिक्षण सहयोग अनुदान कार्यक्रम प्रभावकारी र लोकप्रिय भएको बताएका थिए । प्रदेश सरकारले सरकारी विद्यालयका लागि दिएको विद्यालय बस प्रभावकारी भए पनि नियमित सञ्चालन खर्च व्यवस्थापनमा भने विद्यालयहरुलाई चुनौति भएको उल्लेख गरेका थिए ।

यस्तै एउटा पनि स्थायी दरबन्दी नभएका माध्यमिक विद्यालयका लागि शिक्षण सहयोग अनुदानले विद्यालयलाई माध्यमिक तहका शिक्षक नियुक्त गर्न सहयोग पुगेको सहभागीको भनाइ थियो । यस्तै अनिवार्य तथा निशूल्क शिक्षा कार्यक्रमका लागि प्रदेश सरकारले प्रदान गर्ने अनुदान रकम कम भएको र अनिवार्य तथा निशूल्क शिक्षा कार्यान्वयन भएको घोषणाको निरन्तरतामा चुनौति रहेको सहभागीले बताएका थिए । अभिमुखीकरण कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा आयोजित निबन्ध लेखन प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Exit mobile version