Home मुख्य समाचार हेटौँडाको चुरे हिल अस्पतालमा डाक्टर कुटिए

हेटौँडाको चुरे हिल अस्पतालमा डाक्टर कुटिए

चुरे हिल अस्पतालका डा. सुशिल शाहलाई हातपात गर्दै गरेको तस्वीर ।

हेटौँडा : हेटौँडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । बिरामीको उपचार प्रक्रिया र भर्ना गर्ने विषयमा उत्पन्न विवाद हुँदा उपचारमा संलग्न चिकीत्सक अर्थोपेडिक सर्जन डा. सुशिल शाह माथि हातपात भएको हो ।

बुधबार साँझ ७ बजेको समयमा हेटौंडा–११ निवासी अजित विडारीले अर्थोपेडिक सर्जन डा. शाहलाई हातपात गरेका हुन् । दुर्घटना भएर उपचारका लागि ल्याएका विरामीको रिफर गर्ने विषयमा विवाद हुँदा विडारीले चिकीत्सक डा. शाह माथि हातपात गरेका हुन् । विवादका बिच विडारीले डा. शाहलाई धकेल्नुको साथै मुक्का प्रहार गरेको अस्पतालका डारेक्टर डा. आकेश प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना पछि अन्य विरामीका आफन्त र अस्पतालका कर्मचारीहरुले विडारीलाई रोकेका थिए । अस्पतालमा ड्युटिमा रहेका प्रहरी हवल्दार रवि लोप्चनले कानुनी प्रक्रियाका लागि डा. शाहलाई सोध्दा उहाँले केही नगर्न भन्दै जवाफ दिनुभएको थियो । सो पश्चात विडारी अस्पतालबाट निस्केका थिए ।

उहाँका अनुसार, लडेर कुहिनोमा सामान्य घाउ भई सुरक्षा कंडेल अस्पतालमा उपचारका लागि आएकी थिइन् । उनलाई राजु विडारीले अस्पताल ल्याएका थिए । अस्पतालको इमर्जेन्सीमा ड्युटिमा रहेका डा.सचिन दासले अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा. शाहलाई बोलाएको प्रहरी हवल्दार लोप्चनले बताउनुभयो ।

बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमा नै स्वास्थ्य बिमा मार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सक बिच विवाद भएको उहाँले बताउनुभयो । डा. शाहले बिरामीको घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिन अब्जरभेसनका लागि अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिएको र उक्त विषयमा आफन्तहरुले विवाद गरेको लोप्चनले बताउनुभयो ।

बिरामीका आफन्तले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई अन्यत्र लैजाने बताएको र उनीहरुले बिरामीलाई मकवानपुर सहकारी अस्पताल लैजान रिफर गर्नुपर्ने माग गरेको लोप्चनको भनाई छ । सोही क्रममा अस्पताल पुगेका बिरामीका आफन्त अजित बिडारीले अर्थोपेडिक डा. शाहमाथि हातपात गरेको लोप्चनले बताउनुभयो ।

सामान्य विवादका क्रममा भएको हातापाईमा डा. शाहलाई खासै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक बोहराले जानकारी दिनुभयो । घटनाबारे कुनै उजुरी नआएपनि आफूले सो विषयमा अनुसन्धान गरिरहेको र हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।

यता घटनाबारे चिकीत्सक संघ मकवानपुरले पनि छलफल अघि बढाएको छ । संघका सचिव डा. राजु सेंढाइका अनुसार घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी हाल्ने तयारी भएको छ । बिहान भएको अस्पताल प्रशासन र पीडित डा. शाहसंगको छलफलले प्रहरी समक्ष लिखित उजुरी दिने निर्णय भएको उहाँले बताउनुभयो ।

Exit mobile version