Home खेलकुद जेसीआई हेटौंडाको जेसीज सप्ताह, वक्तृत्वकला प्रतियोगितामा पराजुली प्रथम

जेसीआई हेटौंडाको जेसीज सप्ताह, वक्तृत्वकला प्रतियोगितामा पराजुली प्रथम

पुरस्कृत गरिए पश्चात खिचिएको सामुहिक तस्वीर ।

हेटौंडा : जेसीज सप्ताहको अवसरमा जेसीआई हेटौंडाले बुधबार वक्तुत्वकला प्रतियोगिता र साइबर अपराधसम्बनधी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा–९, कर्रास्थित जेसीआई हेटौंडाको आफ्नै सभाहलमा वक्तृत्वकला प्रतियोगिता र भुटनदेवी माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएकोे जेसीआई हेटौंडाको महासचिव सञ्जयकुमार न्यौपानेले जानकारी दिनुभयो ।

“भिजन, एक्सन र सक्सेस” शीर्षकमा जेसीआई हेटौंडाका पदाधिकारी र सदस्यहरू बिच वक्तृत्वकला प्रतियोगिता भएको थियो । १२ जना सहभागी भएको प्रतियोगितामा सन्तोष पराजुली प्रथम हुनुभएको छ । जेसीआई हेटौंडाका महासचिव सञ्जयकुमार न्यौपानेले दोस्रो तथा किरन आले र विवेक फुयालले संयुक्तरूपमा तेस्रो स्थान हासिल गरेका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने चारै जनाले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

जेसीआई हेटौंडाको सन् २०२५ को शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा सन् २००१ का शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

यसैगरी, भुटनदेवी माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई साइबर अपराधका विभिन्न पक्षबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक संगीता लामाले सहजीकरण गर्नुभएको थियो । उहाँले साइबर अपराध के हो ?, यो किन हुन्छ ? यसबाट कसरी बच्ने ? जस्ता विषयहरूमा जानकारी गराउनुभएको थियो । विशेषगरी अनलाइन ठगी, सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत जानकारीको चोरी तथा अन्य साइबर जोखिमहरूबाट जोगिनका लागि आवश्यक सावधानीबारे विद्यार्थीलाई सचेत बनाइएको थियो ।

कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । जेसीआई हेटौंडाका अध्यक्ष पंकजदास बानियाँको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरकोे प्रमुख आतिथ्य रहेको थियो ।

Exit mobile version