हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ कोदारी भिरमा सडकबाट ट्रिपर खसेर आगलागी हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । बुधबार बिहान ४ बजेर ३० मिनेटको समयमा बा ५ ख ४०७२ नम्बरको ट्रिपर सडकबाट करिब १५० मिटर तल खसेर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटना चालक माण्डनदेउपुर नगरपालिका–७ झगारपुरका २८ वर्षीय किसिम राईको ट्रिपर भित्रै जलेर मृत्यु भएको छ भने सहचालक २२ वर्षीय विक्रम राई गम्भिर घाइते भएका छन् । विक्रमलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ भने उनको शरीरका विभिन्न भागमा पोलिएको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











