हेटौँडा : हेटौँडा–१, मैनटारस्थित खानेपानी योजना आइतबार एक कार्यक्रमका बीच हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । साविकको खानेपानी संस्थान स्थानीय बोर्डमा हस्तान्तरण भएपछि बोर्डमा हस्तान्तरण भएको मैनटार खानेपानी उपभोक्ता समिति १७औं समिति हो ।
समितिका अध्यक्ष दिल बहादुर सुनारको सभाध्यक्षता, हेटौँडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष सविन न्यौपानेको उपस्थितिमा समिति हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा र इन्जिनियर विपिन राज वाग्लेको पनि उपस्थिति रहेको थियो ।
वागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाई मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन नं. १, हेटौँडाबाट करिब १ करोड १० लाख रुपैयाँको लगानी र उपभोक्ताहरुको लागत सहभागिता समेत गरी १ करोड ४० लाख को लगातमा निर्मित १ लाख लिटर क्षमताको पानी टंकी, समवेल, करिब ५ किलोमिटर पाइपलाइनसहितका पूर्वाधारहरु एवम् हालसम्म जडान भई पानी संचालनमा रहेको ६९ वटा धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । वडा सदस्य रामकृष्ण अधिकारीले मैनटार खानेपानी उपभोक्ता समितिको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानीय खानेपानी उपभोक्तका जिज्ञासालाई हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले प्रस्ट पार्नु भएको थियो ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको धारा संख्या अहिले २८ हजार ८ सय ६४ पुगेको छ । बोर्डले दैनिक ३ करोड ७० लाख लिटर उत्पादन गरेर उपभोक्तालाई वितरण गर्दै आएको छ । बोर्डले हेटौँडा उपमहानगरका १९ वटा वडामध्ये १७ वटा वडामा सेवा विस्तार गरिसकेको छ । हेटौँडा–१२ र १३ मा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको सेवा पुग्न सकेको छैन ।
