हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट ‘जेन–जी’ आन्दोलनको मौका छोपी फरार भएका १ सय ५७ जना अझै सम्पर्कमा आएका छैनन् । कारागार प्रशासनले फरार रहेका कैदीबन्दीलाई छिटोभन्दा छिटो सम्पर्कमा आउन पटक–पटक आग्रह गरे पनि भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ५७ कैदीबन्दी सम्पर्कविहीन छन् ।
कारागार व्यवस्थापक सुवास पौडेलका अनुसार गत भदौ २४ गते राती कारागारको पर्खाल भत्काएर ४ सय ४० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म २ सय ८३ जना सम्पर्कमा आइसकेका छन् भने १ सय ५७ जना अझै फरार छन् । फरार रहेकाहरुमा जबर्जस्तीकरणीमा ३२, कर्तव्य ज्यानमा १३, लागूऔषधमा ७५ र २६ जना विदेशी नागरिक रहेको उहाँले बताउनुभयो ।
‘मकवानपुरबाट भागेका ४४० मध्ये १५७ फरार रहेका कैदीबन्दीहरु पारिवारिक सम्पर्कमा पनि छैनन् । उनीहरु अन्य ठाउँबाट कहिलेकाहीँ सम्पर्कमा आउने गरेका छन् । तर, हामीले कारागार फर्काउन सकेका छैनौं’, कारागार व्यवस्थापक पौडेलले भन्नुभयो, ‘फरार कैदीबन्दीहरुलाई सम्पर्कमा ल्याउन जिल्ला सुरक्षा समितिसहितको कार्यदलले काम गरिरहेका छौं ।’ कारागार व्यवस्थापक पौडेलका अनुसार भागेका कैदीबन्दीलाई थप सजाय गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । थप सजायको व्यवस्था कार्यान्वयन गरेको खण्डमा भागेका कैदीबन्दीहरु फिर्ता हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यद्यपी हालसम्म निर्णय भए अनुसार कुनैपनि कारागारले थप सजायका लागि फाइल उठाउन नसकेको उहाँले जानकारी दिनुभयो । कारागार तोडफोड गरी भाग्ने कैदीबन्दीलाई कारागार ऐन, २०७९ को दफा ४९ अनुसार थप सजायको व्यवस्था रहेको छ ।
ऐनमा कारागारको पर्खाल, झ्याल–ढोका फोडेमा, भत्काएमा वा नष्ट गरेमा दश वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । त्यसैगरी, कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । तर, भीमफेदी कारागारबाट भागेका कैदीबन्दीको हकमा यो कानुनी व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको उहाँले बताउनुभयो । त्यस विषयमा स्पष्ट रुपमा निर्देशन आउन नसक्दा कार्यान्वयनमा समस्या भएको उहाँको भनाई छ । कारागार व्यवस्थापक पौडेलका अनुसार देशभरका २८ वटै कारागारबाट भागेका कैदीबन्दीमध्ये तोडफोड र आगजनीमा संलग्नलाई थप सजायका लागि कुनै पनि फाइल खडा गरिएको छैन ।
कारागार व्यवस्थापक पौडेलले सुरक्षा चुनौतीका बीच भागेका र सामान्य अवस्थामा भागेका कैदीबन्दीलाई फरक–फरक रुपमा हेरेर कानुनी उपचारको व्यवस्था गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । सो अनुसार गर्न सकिएमा कारागार व्यवस्थापनमा सहजता आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
