हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकैको मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर १० मिनेटको समयमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङ जिल्लाको गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ र पछाडी सवार १८ वर्षीय रोहित तामाङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा चालक रामचन्द्रको दिउँसो १ बजेर ३४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय कन्टेनर ट्रक चालक भारत, कलकत्ताका ५० वर्षीय जितेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ ।
