हेटौँडा : पशु सेवा कार्यालय मकवानपुरले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा विनियोजित रकमको ८५ दशमलव ४१ प्रतिशत खर्च गरेको कार्यालयले ९९ दशमलव ७७ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ । कार्यालयले ९४ वटा गाई, एउटा भैँसी र एउटा खुवा बनाउने मेशिन खरिद गरेको छ । यसैगरी ६५ वटा गाई गोठ निर्माण सुधारका साथै १० वटा बाख्रा खोर, ३ वटा बंगुरको खोर र १५ वटा खरायोको खोर निर्माण गरेको कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बताउनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा ३ लाख ३ हजार २ सय ४५ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये सबैभन्दा धेरै प्रशासनिक सेवा शुल्कवापत १ लाख ८४ हजार ६ सय ८५ रुपैयाँ र प्रशासनिक दण्ड, जरिवाना र जफतवापत १ लाख ८ हजार रुपैयाँ संकलन गरेको छ । यसैगरी, डिसपेन्सरी सेवातर्फ सबैभन्दा धेरै बाख्रा २ हजार ६ सय २३ वटा, कुकुर तथा बिरालो २ हजार ३ सय ३ वटा र गाई १ हजार ४ सय २ वटाले सेवा प्राप्त गरेको कार्यालय प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
संक्रामक रोगविरुद्धको खोप कार्यक्रम अन्तर्गत ४ लाख ३० हजार ७ सय पशुपंक्षीमा खोप लगाइएको छ । जसमा पीपीआर ३ लाख, लम्पी स्कीन १५ हजार ९ सय, एचएसबीक्यू र स्वाइन फिवरको ८÷८ हजार डोज रहेको छ । कृत्रिम गर्भाधानका लागि बागमती गाउँपालिकामा २४० लिटर, इन्द्रसरोवर गाउँपालिकामा २४० लिटर, राक्सिराङ गाउँपालिकामा ४ सय लिटर र थाहा नगरपालिकामा ६ सय लिटर नाइट्रोजन वितरण भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा पशुपन्छी ढुवानी मापदण्ड विपरित ओसारपसार गरिएका करिब २ सय वटा गाईगोरु पालन पोषणका लागि स्थानीय कृषकलाई जिम्मा लगाइएको थियो । कार्यालयले नियमित पशुपन्छी तथा मत्स्य उपचार, प्रयोगशाला सञ्चालन, लम्पीरोग नियन्त्रण कार्यक्रम, दुध वृद्धि र बंगुर प्रवद्र्धनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ ।
