हेटौँडा : हेटौँंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता कात्तिक १९ गतेबाट प्रतियोगिता सुरु हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौँडा–६ स्थित गौरिटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशभरका सात वटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी हुने १० वटै क्लबलाई तयारी खर्चबापत एन्फाले ७ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने खेल तालिका समेत सार्वजनिक भइसकेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
एन्फा प्रेसिडेण्ट लिगमा समूह ‘ए’ मा जनजागृति युवा क्लब, चित्लाङ एफसी, विजय स्पोर्टस् क्लब, लालिगुराँस एसोसिएसन क्लब र देउराली युथ क्लब रहेका छन् भने समूह बी मा नवजागृति क्लब, हैसान्स क्लब, टाइगर टिम, गाइघाट एफसी र काँक्रेविहार युथ क्लब रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुनेछ ।
