अन्तरक्रियामा आयोगका अध्यक्ष कार्कीसहित प्रमुख जिल्ला अधिकारी, पूर्वमुख्यमन्त्रीसहित ।

‘भ्रष्टाचारी हो भन्दैमा घर जलाउन पाइँदैन’
हेटौँडा : गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाहरुको छानविन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ गतेको आन्दोलन र २४ गतेको आगजनी तथा लुटपाटका घटनालाई फरक–फरक प्रकृतिको भएको बताउनुभएको छ । उहाँले २४ गतेको घटनालाई आन्दोलन नभई पूर्ण फौजदारी अपराधको संज्ञा दिनुहुँदै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार आयोेजित भदौ २३ र २४ को घटनाको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले आयोग आफैँले फौजदारी अनुसन्धान नगर्ने स्पष्ट पार्नुभयो । उहाँले प्रहरीलाई आफ्नो कानूनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेको र यसमा कुनै ढिलाइ हुन नहुने बताउनुभयो ।

‘२३ गतेको घटना एउटा आन्दोलनको क्रममा भयो । त्यो छुट्टै घटना हो । तर २४ गतेको घटना आगजनी, लुटपाट र डकैतीसहितको पूरै फौजदारी अपराध हो । यसमा कुनै विवाद छैन’, अध्यक्ष कार्कीले भन्नुभयो, ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानविन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो । हामीले घटनाको समग्र छानविन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ।’ उक्त घटनाबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्न सरकारी कार्यालय, सर्वोच्च अदालत, संवैधानिक निकाय, उद्योगी–व्यवसायी र सर्वसाधारणबाट विवरण माग गरिएको बताउनुहुँदै क्षतिपूर्तिको दावी प्राविधिक रुपमा प्रमाणित हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

‘हामीले सबै क्षेत्रबाट क्षतिको विवरण माग गरेका छौँ र व्यक्तिगत रुपमा पनि नोक्सानी व्यहोरेकाहरुलाई फाराममार्फत आवेदन दिन भनेका छौँ । घर जल्यो भनेर एक करोडको क्षति भयो भन्दैमा हुँदैन । त्यसको आधिकारिक निकायबाट प्राविधिक मूल्यांकन हुनुपर्छ ताकि भोलि अदालतमा पनि प्रमाण लागोस्’, उहाँले भन्नुभयो । आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानून अपर्याप्त रहेको अध्यक्ष कार्कीको भनाई छ । उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उहाँले जानकारी दिनुभयो । आयोगले कुनै पनि व्यक्ति वा पक्षलाई हेरेर नभई निष्पक्ष रुपमा काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन । अपराधी हो भनेर हामी आफैँले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानून छ । कानूनबमोजिम कारबाही हुनुपर्छ’, उहाँले भन्नुभयो । उच्च मनोबल राख्ने गरी प्रहरीलाई काम गर्ने वातावरण बनाउन र उनीहरुले गरेका सही कामलाई सबैले समर्थन गर्नुपर्ने बताउनुहुँदै आयोगले घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न पनि अध्यक्ष कार्कीले अपिल गर्नुभएको छ ।