नेपाल भौगोलिकमात्र नभई जाति, भाषा, धर्म, संस्कृतिमा विविधता भएको देश हो । यहाँ जातीय र धार्मिक विविधतासँगै भेषभुषा, रहनसहन, चाडपर्व, परम्परामा पनि विविधता पाइन्छ । देशका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरुले फरक–फरक चाडपर्व मनाउने गरेको भए पनि कतिपय चाडपर्वमा सबैजसो नेपालीको सहभागिता हुने गरेको छ । यस्तो पर्वमध्ये एउटा हो, छठ पर्व । नेपालको तराई मधेशमा बस्ने मधेशी समुदायले मनाउने छठ पर्व अहिले सबै क्षेत्र, जाति र समुदायमा लोकप्रिय बन्दै गएको छ । विशेषगरी भारतको विहार र उत्तर प्रदेश तथा नेपालको तराईमा मनाइने छठ पर्व अहिले दशैँ, तिहारजस्तै धेरै नेपालीको साझा पर्वका रुपमा मनाउने गरिएको छ । यस वर्षको छठको मुख्य दिन आज कात्तिक १० गते सोमबार परेको छ । छठमा सरकारले सार्वजनिक विदा समेत दिँदै आएको छ ।
तिहारको समापनसँगै छठ पर्वको रौनक सुरु हुन्छ । चार दिनसम्म मनाइने छठको मुख्य पूजा कात्तिक शुक्ल षष्ठीका दिन गरिन्छ । छठी (षष्ठी) मातालाई पुकारेर सूर्यको पूजा आराधना गरिने छठ पर्व कात्तिक शुक्ल चतुर्दशीदेखि सुरु भएर कात्तिक शुक्ल सप्तमीका दिन समापन गरिन्छ । छठीबाट अप्रभंश भएर यो पर्वको नाम छठ भएको विश्वास छ । छठ पूजाको लागि विशेषगरी विभिन्न नदी, तलाउ तथा अन्य जलाशय किनारमा सरसफाई गर्दै रंगीचंगी बनाइन्छ । छठ पर्वको सुरुका दुई दिन घरघरमै र अन्तिम दुई दिन नदी, खोला, पोखरी, तलाउ, इनारको छेउमा बसेर पूजाआजा गरिन्छ ।
छठको पहिलो दिन अरबा अथवा नहाई खाय भनिन्छ भने दोस्रो दिनलाई खरना भनिन्छ । अरबाको दिन गाउँ, टोलका युवाहरु मिलेर छठ मनाइने जलाशय, त्यसको किनार तथा बाटो सफा गर्ने र आवश्यक सामग्री व्यवस्थापन गरिन्छ । खरनाको दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले खीरलगायत शुद्ध भोजन गर्दछन् । यस दिनमा एक छाकमात्र खाने गरिन्छ । छठको मुख्य दिन अर्थात् तेस्रो दिनलाई सँझिया अघ्र्य पनि भनिन्छ । साँझमा सूर्यलाई अघ्र्य दिने भएकाले सँझिया अघ्र्य भनिएको हो । यस दिनमा व्रतालुहरु पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख छठ पूजाको लागि तयार गरिएको घाटमा गई पानीमा आधा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गरेर अघ्र्य दिने गर्दछन् । सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ । चौथो तथा अन्तिम दिनलाई बिहनीया अघ्र्य पारण भनिन्छ । चौथो दिनको विहानै सूर्य उदाउनुअघि नै जलाशय किनारमा पुगी उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठको व्रत समापन गरिन्छ । कतिपय ब्रतालुहरु छठघाटमै रातभर बसेर छठी माताको भजनकीर्तन गर्दछन् ।
वैदिक सनातन धर्मका धेरैजसो पर्व प्रकृति अर्थात् पृथ्वीको महिमासँग सम्बन्धित छ । यस्ता चाडपर्व धार्मिक, सांस्कृतिकमात्र नभई यसको प्रयोगात्मक महत्वले विज्ञानसम्मत पनि बनाएका छन् । छठ पर्व पनि सम्पूर्ण शक्ति अर्थात् ऊर्जाको मुख्य स्रोत सूर्यको अनुष्ठान हो । सूर्यबिना पृथ्वीमा कुनै जीवको अस्तित्व सम्भव नहुने भएकाले सूर्यको पूजा, आराधना गर्ने छठ पर्वले सूर्य र प्राणीको सहअस्तित्वलाई उजागर गर्दछ । त्यतिमात्र नभई सद्भाव अनि भातृत्वको प्रतीकको रुपमा पनि छठ पर्वको महत्व छ । छठमा व्रत बसेर पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालीहरुबीच बढ्दो समावेशी संस्कारका कारण छठ पर्व सबै नेपालीको पर्व बनेको छ । मधेश, पहाड र हिमालबिचको सम्बन्ध प्रगाढ बनाउँदै संस्कृतिको विस्तारमा छठ पर्व महत्वपूर्ण बन्दै गएको छ । सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध बनाउन सहयोगी बनेको छठ पर्वको सबैमा हार्दिक शुभकामना छ ।











