हेटौँडा : तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट हेटौँडा–११ स्थित मामाघर नेपाललाई खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ । हेटौँडा–१० स्थित ग्लोबल युथ इन्टरप्रेनर्स ट्रेनिङ्ग ईन्स्टिच्युट प्रालिले तिहारमा देउसीभैलो खेलेर संकलन भएको ५० हजार रुपैयाँबाट सडक बालबालिकाको क्षेत्रमा सक्रिय मामाघर नेपाललाई सहयोग गरेको हो ।
ग्लोबल युथका हेटौँडा शाखा प्रमुख बिरु मेचेको नेतृत्वमा आइतबार मामाघर नेपालमा पुगेर सहयोग हस्तान्तरण गरिएको हो । विभिन्न जिल्लाबाट आएर हेटौँडामा कार्यरत कर्मचारीहरुलाई तिहारमा रमाइलो पनि हुने र सहयोग पनि गर्ने आशयले देउसीभैलो खेलिएको र सबैको सल्लाहमा मामाघर नेपालमा सहयोग गरिएको शाखा प्रमुख मेचेले बताउनुभयो । मामाघर नेपाल यस्तै दान, चन्दा, उपहार र सहयोगमा संचालित सामाजिक संस्था हो ।











