हेटौंडा : पर्व विदाको समयमा पनि हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनले आयोजना गरेको सीप सिकाई कार्यक्रम सकिएको छ । शुक्रबार विद्यार्थीहरूले बनाएका सामग्रीहरु प्रदर्शन गरेर कार्यक्रम समाप्त भएको विद्यालयका प्रधानाध्यापक सुदिप गिरीले जानकारी दिनुभयो ।
विद्यालयले असोज २१ गते मंगलबारबाट सीप सिकाई एवम् विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गरेको थियो । विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई टपरी बुन्ने, गुन्द्री बुन्ने, बत्ती बनाउने, चित्रकला, कथालेखन, मोतीको माला बनाउने, व्यवसाय गर्ने, रङ लगाउनेलगायतका तालिमहरु दिएको थियो ।
तालिम अवधिभर विद्यार्थीहरूले तयार पारेका मैनबत्तीलाई शुक्रबार प्रदर्शनीमा राखेर व्यापार गरिएको थियो । विद्यालयले मैनबती बनाउने तालिमका लागि ३० हजार बिउपुँजी फिर्ता गर्ने शर्तमा दिएको थियो । विद्यार्थीले बिउपुँजी फिर्ता गरेपश्चात् बाँकी रहेको पैसालाई विभिन्न काममा लगानी गर्ने प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो ।
विद्यालयले सीप सिकाई कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ बजेट व्यवस्था गरेको थियो । बिहीबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, शिक्षा विकास महाशाखा निर्देशक सीताराम कोइराला, प्याप्सन हेटौंडा उपमहानगरपालिका अध्यक्ष रामकुमार श्रेष्ठलगायतले अवलोकन गर्नुभएको थियो । शुक्रबार १८ नम्बर वडा अध्यक्ष अनिलकुमार बानियाँ, वडा सचिव महेश पुडासैनी, अभिभावक, शिक्षाप्रेमीको उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा असोज २ गतेबाट सञ्चालन गरेर शुक्रबार नै नतिजा प्रकाशनसमेत गरेको छ ।
