Home मुख्य समाचार राप्ती खोला मनहरीको डिल्लीपुर बसन्तपुरबासीको कहर, हिउँद लागेसँगै बन्यो बाटो

राप्ती खोला मनहरीको डिल्लीपुर बसन्तपुरबासीको कहर, हिउँद लागेसँगै बन्यो बाटो

हेटौंडा : हिउँद याम लागेसँगै मकवानपुरको मनहरी गाँउपालिकास्थित राप्तीखोला पार गर्न वर्षाैंदेखि नदीमा अस्थायी कच्ची बाटो निर्माण गरिँदै आएको छ । हिउँदमा गाउँपालिकाको वडा नं ५ लाई वडा नं ९ स्थित महेन्द्र राजमार्गसँग जोडेर आवतजावत गर्नका लागि सो वडा कार्यालयले राप्ती खोलामा ह्युम पाइप राखेर वर्षेनि कच्ची अस्थायी सडकलाई निरन्तरता दिने गरेको हो ।

मनहरीको वडा नं ५ डिल्लीपुर बसन्तपुरका स्थानीय बासिन्दाहरुलाई दैनिक जीवनयापनका शिलशिलामा मनहरी–९, रजैयामा आइपुग्न वर्षायाममा निकै सकसपूर्ण यात्रा गर्नुपर्दछ । यस यात्रालाई सहज बनाउने उद्देश्यले वडा नं ५ कार्यालयले वर्षेनि असोज कात्तिक महिनामा राप्ती खोलामा ह्युम पाइप राखेर अस्थायी बाटो निर्माण गर्दै आएको छ । यो अस्थायी मार्ग निर्माण गर्न प्रत्येक वर्ष वडा कार्यालयले ५ लाख र वर्षायाम लागेपछि आफैंले भत्काउन एक लाख रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार बाटो निर्माणका लागि प्रत्येक वर्ष जाली खरिद, जेसीबी भाडा, श्रमिक ज्यालालगायत गरी करिब ५ लाख खर्च हुने गरेको छ ।

विसं २०७६ मा पहिलोपटक यो बाटो निर्माण गर्दा ह्युमपाइपसहित १६ लाख खर्च भएको भए पनि यसपछि ह्युमपाइपमा भने कहिलेकाँही थप गर्नुबाहेक खासै खर्च हुने गरेको छैन । ‘वर्षामा आएको बाढीले ह्युमपाइप बगाएर केही पर लैजान्छ, तर हामीले निकालेर फेरि प्रयोग गर्दै आएका छौं’, वडाअध्यक्ष अधिकारीले भन्नुभयो, ‘ह्युमपाइप हाल्नुअघि साँघु तरेरमात्र आवतजावत हुने गथ्र्यो तर यो बाटोले हिउँदमा भने सजिलो बनाउँछ ।’ स्थानीयहरु कोही बिरामी हुँदा एम्बुलेन्स, आगलागी हुँदा दमकललगायत गाउँमा उत्पादित कृषि उपजहरु बिक्री गर्नका लागि यहि बाटो आवतजावत गर्ने गर्दछन् । तर, वर्षायाममा यो बाटो बन्द हुँदा स्थानीयबासीहरु यी काम गर्नबाट वञ्चित हुने गरेका छन् ।

यो बाटोभन्दा २ सय मिटर पर पक्की पुल पनि बन्दैछ । यो पुल बनेपछि भने वडाबासीले सास्ती खेप्नुनपर्ने आशामा स्थानीयहरु रहेका छन् । बागमती प्रदेश सरकारको २४ करोड लगानीमा २०७९ देखि निर्माणाधीन रहेको सो पुल निर्माणको काम २०८३ बैशाख मसान्तसम्म सकिनुपर्नेछ । तर, पुल निर्माणको ४० प्रतिशतमात्र काम सम्पन्न भएकोले तोकिएको म्यादभित्र पुल प्रयोग गर्न पाइनेमा वडाध्यक्ष अधिकारी आश्वस्त हुनुहुन्न । बिटी निर्माण सेवा काठमाडौंले निर्माण गरिरहेको सो पुलको काम समयमै सम्पन्न गरे तरकारीको पकेट क्षेत्रसमेत रहेको यो वडामा दुध संकलन र अन्य उत्पादन पनि बजारमा लैजान र आपतबिपतमा समेत ढुक्क हुन पाइने स्थानीयहरुको अपेक्षा छ ।

Exit mobile version