हेटौँडा : मकवानपुर जिल्लाको बकैया र हेटौँडामा करेन्ट लागेर एकैदिन २ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–६, बेलबोटमा करेन्ट लागेर एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा काभ्रे जिल्लाको महाभारत गाउँपालिका–२१, का आयुष लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो ३ बजेको समयमा भित्री सडक खण्डमा बेलबोबाट काठलोड गरी हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २१६७ नम्बरको ट्रकको छतमा बसि घर घरमा लगेको विद्युतको तार पन्छाउदै अगाडी बढ्ने क्रममा एक्कासी ११००० भोल्टको तारमा छोई करेन्ट लाग्दा आयुष घाइते भएका थिए । घाइते आयुसको मकवानपुर सहकारी अस्पतालमा उपचार भई रहेको छ । ट्रक र ट्रक चालक (साहु) हेटौँडा–५ का ४० वर्षीय रमेश प्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौँडा–१० कर्राचोकमा करेन्ट लागेर एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा–१६ उत्तरपानी बस्ने २५ वर्षीय बिमल बम्जन रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो २ बजेको समयमा श्रीराम पान पसलमा पान किन्न आएको बिमललाई पसल छेउमा रहेको तारमा छुँदा करेन्ट लागेर घाइते भएका थिए । घाइते बिमलको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि मोडेल अस्पताल मकवानपुर लगिएको प्रहरीले जनाकारी दिएको छ ।











