हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई खानेपानीमा दिँदै आएको छुट कटौति गरे पनि भरतपुर महानगरपालिकाले भने नगरवासीलाई खानेपानीमा दिँदै आएको छुट कायमै राखेको छ । २०७९ साल मंसिरदेखि भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा मासिक न्यूनतम् सात हजार लिटर पानी उपभोग गर्ने उपभोक्तालाई सहुलियत दिँदै आएको थियो ।

हेटौँडा उपमहानगरले भने संघीय सरकारले खर्च कटौति गर्न निर्देशन दिएपछि खानेपानीमा छुट सुविधा हटाएको जनाएको छ । उता भरतपुरले भने संघीय सरकारको त्यस्तो निर्देशन नभएको उल्लेख गर्दै छुट सुविधा कायमै राखेको जनाएको छ । भरतपुर महानगरपालिकामा कुल ४३ हजार धारा मध्ये झण्डै २५ प्रतिशत अर्थात् १० हजार भन्दा बढी धारामा न्यूनतम् मात्रै महसुल उठ्ने र ती उपभोक्ताले निशूल्क खानेपानी उपभोग गर्न पाउने अवस्था छ ।