Home मुख्य समाचार मकवानपुर जिल्ला अदालतमा नियमित सुनुवाइ कात्तिक १३ गतेबाट सुरु हुने

मकवानपुर जिल्ला अदालतमा नियमित सुनुवाइ कात्तिक १३ गतेबाट सुरु हुने

हेटौँडा : गत भदौमा देशव्यापी रुपमा चलेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण प्रभावित बनेको मकवानपुर जिल्ला अदालतको कामकारबाही पुनः पूर्ण रुपमा सुचारु हुने भएको छ । अदालतले एक सूचना जारी गर्दै आगामी कात्तिक १३ गतेदेखि मुद्दाहरूको नियमित सुनुवाइ प्रारम्भ गर्ने जनाएको हो ।

आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि नियमित सेवा प्रभावित भएको थियो । यद्यपि, अदालतले बन्दी प्रत्यक्षीकरण जस्ता विशेष सेवाहरु भने सञ्चालन गरिरहेको थियो । जिल्ला बार एसोसिएसन, मकवानपुरसँगको सहकार्यमा मुद्दाको प्राथमिकता निर्धारण गरी नियमित रूपमा सम्पूर्ण सुनुवाइ अगाडि बढाइने भएको अदालतका निमित्त श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोज ३० गते बार एसोसिएसन र अदालतको पूर्ण बैठकले नियमित पेशी सुचारु गर्ने निर्णय गरेको हो । यसका साथै, साप्ताहिक पेशी सूची कात्तिक २ गते अदालतको सूचना पाटीमा टाँस गरिने उहाँले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते मकवानपुर जिल्ला अदालत पनि आगजनीको गरिएको थियो ।

Exit mobile version