Home मुख्य समाचार अनुगमन नियमित होस्

अनुगमन नियमित होस्

दशैं, तिहारजस्ता मुख्य चाडपर्वको बेलामा बजार अनुगमनले तिब्रता पाउने गरेको पाइन्छ । बजार अनुगमनले आम उपभोक्ताले केही भए पनि राहत पाउन सक्छन् । बजारमा विद्यमान विकृति, विसंगति र कालोबजारी रोक्न प्रभावकारी अनुगमन र कारबाही निकै फलदायी मानिन्छ । अनुगमन कार्य भइरहने हो भने पक्कै पनि बजारमा केही सुधार आउँछ नै । तर, चाडपर्वको समयमा मात्र गरिने मौसमी अनुगमनले बजारमा भइरहने गलत क्रियाकलाप नियन्त्रण गर्न सकिँदैन । आम व्यवसायीमा चाडपर्वको समयमा केही सतर्कता अपनाउने र अन्य समयमा फेरि कालोबजारी नछाड्ने परिपाटी कायम हुनसक्छ । अनेकौं विसंगति र विकृतिले घेरिएको बजारलाई नियमित अनुगमन प्रक्रियाबिना सुधार गर्न सकिने अवस्था अहिले देखिँदैन ।

विगतमा जस्तै यतिखेर हेटौंडामा तिहारलक्षित बजार अनुगमनलाई तिव्र बनाइएको छ । तिहार नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजगर गर्दै सोमबारदेखि बजार अनुगमनलाई तिव्र बनाइएको हो । बुधबार उद्योग तथा वाणिज्य कार्यालय मकवापुरको नेतृत्वमा बजार अनुगमन गरिएको छ । सो क्रममा १२ वटा पसलहरुको अनुगमन गरिएकोमा २ वटा पसललाई १०÷१० हजार रुपैयाँ जरिवाना गराइएको छ । हेटौंडा–४ मा दर्ता गरेर हेटौंडा–१० मा सञ्चालन गरिएको एउटा र वीरगञ्ज महानगरपालिकामा दर्ता गरेर हेटौंडा–१० मा सञ्चालन गरिएको अर्को पसललाई अनुगमन टोलीले १०÷१० हजार रुपैयाँ जरिवाना गराएको हो । अनुगमन टोलीले पनि पसलहरुमा बिक्री गर्न राखिएको प्लाष्टिकका फूलहरु हटाउनसमेत निर्देशन दिएको छ ।

बजारको नियमनका लागि संघ, प्रदेश तथा स्थानीय तीनवटै तहको सरकारको विभिन्न निकाय क्रियाशील छन् । उपभोक्ताको हित संरक्षणका लागि विभिन्न उपभोक्ता अधिकारवादी संघसंस्थाहरु पनि रहेका छन् । यस्तै, व्यावसायिक संघसंस्थाहरुको पनि बजारमा हुने गरेका अनियमितता रोक्ने कर्तव्य हुन्छ । यति हुँदा पनि बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावटजस्ता अनियमित र गैरकानुनी कार्य भइरहनु विडम्बना हो । बुधबार पनि उद्योग तथा वाणिज्य कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चसमेतको सहभागितामा बजार अनुगमन गरिएको छ । यी निकायले निश्चित समयतालिका र कार्यविधि बनाएर नियमित बजार अनुगमन गर्न गम्भीर नहुँदा कतिपय व्यवसायीबाट उपभोक्ताको हित प्रतिकूल हुने कार्य रोक्न नसकिएको हो ।

व्यवसायीले चाडपर्वको मौका छोपेर उपभोक्ताको हित विपरित कालोबजारी गर्ने सम्भावना बढी हुने भएकाले अन्य समयभन्दा चाडपर्वको समयमा बजार अनुगमनलाई सघन पार्नु स्वभाविक भए पनि बजार अनुगमन नियमित बनाउनैपर्छ । नाफामुखीमात्र देखिएको नेपाली बजारलाई उपभोक्ता हितमुखी बनाउन नियमित अनुगमन गर्न सम्बद्ध निकाय गम्भीर बन्नैपर्छ । दशैं÷तिहार अगाडि केही दिन बजार अनुगमन गर्ने र अन्य समयमा कुम्भकर्णजस्तो मस्त निद्रामा रहने हो भने कालोबजारी नियन्त्रण कदापि गर्न सकिँदैन । मुलुकको संविधानदेखि ऐन, कानुन र अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासम्मले उपभोक्ताको हित र अधिकार संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेको अवस्थामा सरकारी नियमनकारी निकायले प्रभावकारी र नियमित बजार अनुगमन अग्रसर हुनैपर्छ ।

Exit mobile version