Home मुख्य समाचार कारको ठक्करबाट घाइते भएका दुई जना पैदल यात्रीको उपचारको क्रममा मृत्यु

कारको ठक्करबाट घाइते भएका दुई जना पैदल यात्रीको उपचारको क्रममा मृत्यु

हेटौँडा : चितवन जिल्लाको छुट्टाछुट्टै स्थानमा कारको ठक्करबाट घाइते भएका दुई जना पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२७, धर्मपुरमा कारको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ । गत भदौ २५ गते राती ८ बजेर २० मिनेटको समयमा बुद्धनगरबाट अमृतचोक जाँदै गरेको बा १६ च १४२ नम्बरको कारले ठक्कर दिँदा पैदल यात्री ५७ वर्षीय नवराज पौडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पौडेललाई उपचारका लागि चितवनस्थित पुरानो मेडीकल कलेज भरतपुर लगिएको थियो । सामान्य उपचार पश्चात पौडेललाई भदौ २६ गते दिउँसो १ बजेर ३५ मिनेटको समयमा आफन्तले आफू खुसि घर लगेको प्रहरीले जनाएको छ । घाइते भएका पौडेलको मंगलबार राती ११ बजेको समयमा आफ्नै घरमा मृत्यु भएको थियो । कार चालक भरतपुर महानगरपालिका–६, इन्द्रपुरी बस्ने ३४ वर्षीय बिनोद पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२, देवकोटा चोक नजिकै कारले ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । गत बिहीबार साँझ ६ बजेर ४५ मिनेटको समयमा प्रदेश ३–०१–०२२च ८१७५ नम्बरको कारले पैदल यात्री ५८ वर्षीय रण बहादुर बिकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

घाईते बिकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएको थियो । विकलाई भरतपुर अस्पताल र मनकामना हस्पिटल भरतपुर सामान्य उपचार पश्चात थप उपचारका लागि मंगलबार काठमाडौँस्थित न्युरो हस्पिटल बाँसबारी लगिएको थियो । उपचारको क्रममा बुधबार राती ११ बजेर ११ मिनेटको समयमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version