हेटौंडा : मकवानपुर जिल्लाको हेटौंडा फुटबल एकेडेमी बारा जिल्लाको निजगढमा आयोजना हुने चौथो संस्करणको रतनपुरी गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ । निजगढ नगरपालिकाको रतनपुरी युनाइटेड क्लबले शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता असोज ३१ गतेदेखि सुरु हुँदैछ ।
बुधबार आयोजक रतनपुरी युनाइटेड क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । हेटौंडा फुटबल एकेडेमीको टोलीले आफ्नो पहिलो खेलमा कार्तिक ३ गते निजगढ नगरपालिकाको न्यू हिमालयन युवा क्लबसँग प्रतिस्पर्धा गर्ने हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।
निजगढ नगरपालिका ११ नम्बर वडा कार्यालयको प्रायोजनमा हुने लागेको प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसहित ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा लालीगुराँस सांस्कृतिक युथ क्लब, योङस्टार युनाइटेड क्लब, पर्सा राइडर्स फुटबल एकेडेमी, आयोजक रतनपुरी युनाइटेड क्लब, न्यू हिमालयन युवा क्लब, हेटौंडा फुटबल एकेडेमी, निजगढ नगरपालिका १२ नम्बर वडा, पुरानो निजगढ, फेनियोस युवा क्लब, नमो टुडे आधुनिक क्लबलगायतका टोलीहरूको सहभागिता रहनेछ ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता टोलीले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रशिक्षक लामाका अनुसार प्रतियोगिताको फाइनल खेल कार्तिक १० गते हुनेछ ।











