Home खेलकुद मकवानपुरगढी जेसीज कपको फाइनलमा

मकवानपुरगढी जेसीज कपको फाइनलमा

मकवानपुरगढीका गणेश हमाललाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरिँदै ।

हेटौँडा : डिफेन्डिङ च्याम्पियन जेसीआई मकवानपुरगढी मनहरी–४ मा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा कमाने फुटबल एकेडमीलाई सडनडेथमा स्तब्ध पार्दै मकवानपुरगढी जेसीजले फाइनल भिडन्त पक्का गरेको हो ।

निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुंगो लगाइएको हो । निकै प्रतिस्पर्धात्मज खेलमा कमानेले नै सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको पाँचौ मिनेटमा कमानेका गम्भीर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा मकवानपुरगढीका गणेश हमालले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । बाँकी समय गोल हुन नसक्दा खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा कमानेका गम्भीर तामाङ, सुरज तामाङ, सुहान तामाङ र एनिस लामाले गोल गर्दा समर्पण नगरकोटीको प्रहारलाई गढीका गोलरक्षकले बचाएका थिए । टाइब्रेकरमा मकवानपुरगढीका राकेश चौधरी, समीर ढकाल, वसन्त कुमाल र देव गुरुङको प्रहार गोल हुँदा साहिल ढकालको प्रहारलाई कमानेका गोलरक्षकले बचाए । सडनडेथमा कमानेका सुजन खड्की, राजेश गोले, नवीन थापा मगरको प्रहार गोल हुँदा किसन थापा मगरको प्रहार बाहिरिएको थियो । यता जेसीजबाट गणेश हमाल, कुमार लामा, निर्णय पौडेल र लाक्पा लामाले गोल गरेका थिए ।

म्यान अफ द म्याच मकवानपुरगढीका गणेश हमाल घोषित भए । मकवानपुरगढी जेसीजले अब बिहीबार हुने पटिहानी इभेन्ट्स र गुरुशिष्य पाठशालाबीचको विजेतासँग १ गते फाइनल खेल्नेछ । चैनपुर जेसीज मनहरीको आयोजनामा २३ गतेबाट सन्चालन भइरहेको प्रतियोगिताको विजेताले एक लाख १ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार र बाँकी विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

Exit mobile version